शनिबार, वैशाख ८, २०८१
06:06 | १०:५१

पाँचौं वातावरण साहित्य गोष्ठीमा ८३ स्रष्टाले सुनाए रचना

नेपाली लिङ्क जुन १२, २०२०

लण्डन । कोरोना महामारीका बेला भर्चुअल माध्यमबाटै आयोजना गरिएको पाँचौं वातावारण साहित्य गोष्ठीमा विभिन्न मुलुकमा रहेका नेपाली स्रष्टाहरु सहभागी बनेका छन् ।

गतसाता शुक्रबार र शनिबार गरी दुई दिन चलेको गोष्ठीमा कुल ८३ जना स्रष्टाले वातवारणसम्बन्धी आफ्ना सिर्जना सुनाएका थिए ।

बेलायतस्थित विभिन्न १४ वटा नेपाली साहित्यिक संस्थाको संयुक्त आयोजना रहेको गोष्ठीको संयोजन वातावारण साहित्यकार विजय हितानले गरेका थिए ।

गोष्ठीको पहिलो दिन शुक्रबार नेपाल तथा प्रवासमा रहेका स्रष्टा र दोस्रो दिन बेलायतमा रहेका स्रष्टाहरुले आफ्ना सिर्जना वाचन गरेर सुनाएका थिए । गोष्ठीमा वातावरणको संरक्षणमा चेतना फैलाउने खालका सिर्जनाहरु प्रस्तुत गरिएका थिए ।

गोष्ठीमा वाचन भएका सिर्जनामध्ये नेपालका गणेशकुमार राई र भारतको आसामका धर्मेन्द्र उपाध्यायका कविता उत्कृष्ट छनोट भएका छन् । राईको ‘ए धोबिनी चरी’ र उपाध्यायको ‘यो विश्व तिम्रो निम्तिमात्र होइन’ शीर्षकका रचनालाई उत्कृष्ट चयन गर्दै वातावरण साहित्य पुरस्कार प्रदान गरियो ।

गोष्ठीमा नेपाल, भारत, भुटान, जापान, रसिया, अमेरिका, युरोप र बेलायत लगायतका देश र क्षेत्रमा रहेका स्रष्टाहरुले सहभागिता जनाएका थिए ।

पहिलो दिन गोष्ठीको टिप्पणीकारका रुपमा समालोचकद्धय डा गोविन्दराज भट्टराई र ज्ञानबहादुर छेत्री थिए भने दोस्रो दिन प्राध्यापक डा खगेन्द्रप्रसाद लुईंटेलले प्रस्तुत सिर्जनाहरुमाथि टिप्पणी गरेका थिए ।

उक्त दिन बेलायतका लागि नेपाली राजदूत एवम् साहित्यकार डा दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) पनि प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । त्यसअवसरमा राजदूत डा सुवेदीले शुभकामना मन्तव्य दिंदै वातावरण साहित्यको महत्वका बारेमा बोलेका थिए ।

प्रा. डा. खगेन्द्रप्रसाद लुईटेलले निकट भविष्यमा डायस्पोरा नेपाली साहित्य र साहित्यकारको एक ऐतिहासिक अभिलेख पनि तयार गर्दै गरेकाले सवैलाई बेलैमा आफ्नो परिचय र प्रकाशितत कृति तथा रचनाका नाम पठाउनु आग्रह गरे ।

कार्यक्रम संयोजक विजय हितानले पाँचौं वातावरण साहित्य गोष्ठीमा भाग लिएर यसलाई सफल पार्न सहयोग गर्ने सबै वातावरण साहित्य अनुरागीहरूलाई आभार प्रकट गरे । गोष्ठी सञ्चालन एनआरएनए युके सचिव एवम् सर्जक जीत रानाभाटले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू