बिहीबार, वैशाख १३, २०८१
17:37 | २२:२२

घरघर पुगेर राहत बाँड्दै पञ्चासे हर्पन डाँडा समाज यूके

नेपाली लिङ्क जुन १२, २०२०

लण्डन । पञ्चासे हर्पन डाँडा समाज यूकेले नेपालमा महामारीबाट प्रभावितहरुलाई दोश्रो चरणमा राहत स्वरुप नगद र खाद्यसामाग्री बाँडेको छ ।

समाजले समस्यामा परेका पोखराका १७ परिवारलाई करिब ९० हजार रुपैया बराबरको नगद र खाद्यान्न वितरण गरेको हो । यसअघि समाजले पहिलो चरणमा ८० परिवारलाई करिव २ लाख ४० हजारको राहत बाँडेको थियो ।

समाजको तर्फबाट महासचिव प्रकाश गुरुङ तथा समाजका सदस्यहरु धर्मवती गुरुङ, संगीना गुरुङ, मनदेवी गुरुङ लगायतले राहत वितरण गरेका थिए । त्यस अवसरमा पोखराका निर्माण व्यवसायी ठाकुर गुरुङ र अग्रज पत्रकार एवम् स्कुल अफ डेमोक्रेसीका गण्डकी प्रदेश समितिका अध्यक्ष गंगाधर पराजुली समेत सहभागी थिए। ।

समाजका महासचिव र चारैजना सदस्यहरु लकडाउनका कारण बेलायत फर्किन नपाएपछि पोखरामा बसेर राहत वितरण लगायतका सामाजिक काममा जुटिरहेका छन् ।

मंगलबार पनि टोलीले पोखराको छोरेपाटन, पृथ्वीचोक, लालीगुरांस टोल, लेकसाईड, विरौटा, लामाचौर लगायतका क्षेत्रमा गाउंबाट आएर बसोबास गर्दै आएका दलित, विपन्न र असहाय परिवारलाई घरघरमै पुगेर राहत वितरण गरेको थियो ।

त्यस क्रममा पोखराको बिरौटामा भाडामा बस्दै आएकी चीजकुमारी गुरुङलाई नगद ३० हजार रुपैया र खाद्यसामग्री वितरण गरिएको थियो । आफ्नो श्रीमानको रहस्यमय मृत्युपछि होटलमा सामान्य काम गरेर चार जना छोरीसहित बस्दै आएकी उनले श्रीमानको मृत्युपछि घरपरिवारबाट समेत कुनै सहयोग नपाएको भन्दै दुखेसो गरेकी थिइन् ।

यसैगरी, पृथ्वीचोक क्षेत्रमा सुकुम्बासी टोलमा बस्ने जौमाया गुरुङलाई नगद १० हजार रुपैयासहित खाद्यान्न प्रदान गरिएको थियो ।

समाजले आफ्नो गाउँ क्षेत्रबाट पोखरा आएर बसेकाहरुको वास्तविक समस्याबारेमा जानकारी लिने अनि राहत पाउनेहरुलाई गर्मी र वर्षाका कारण समस्या नहोस् भन्ने उद्देश्यले उनीहरु बस्ने ठाउंमा नै राहत सामाग्री पुर्याएको समाजका महासचिव प्रकाश गुरुङले जानकारी दिए ।

पोखरा महानगरपालिका २३ स्थित पर्यटकीय स्थल पञ्चासे डांडा नजिकका दमदमे, सिधाने, कुद्बीडाँडा र मकानपुर गाउँमा गाउँबाट बेलायतमा आएर विभिन्न पेशा र व्यवसायमा संलग्नहरुले झण्डै एक दशकअघि समाजको स्थापना गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू