बिहीबार, चैत १५, २०८०
11:10 | १६:५५

महामारीपछि नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने बेलायतको दृढता

बेलायतका विदेश राज्यमन्त्रीसँग मन्त्री ज्ञवालीको वार्ता

रासस जुन १२, २०२०

काठमाडौं । बेलायत सरकारले महामारीपछि नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने दृढता व्यक्त गरेको छ ।

शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंगको टेलिफोन वार्तामा बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदले उक्त प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्ताको क्रममा द्विपक्षीय, क्षेत्रीय र  विश्वव्यापी साझा चासोका विषयहरूमा सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।  

वार्तामा मन्त्रीद्वयबीच  कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श भएको थियो । साथै, अहिलेको कठिन परिस्थितिमा दुई पक्षबीचको सहकार्य र साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

वार्ताका क्रममा नेपालमा रहेका बेलायती नागरिक तथा बेलायतमा रहेका नेपालीलाई सहयोग गर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्ने तत्परता मन्त्रीद्वयले व्यक्त गरेका थिए । 

त्यस्तै, त्यस अवसरमा कोभिड–१९ विरुद्ध आ–आफ्ना सरकारले चालेका कदमप्रति उनीहरूले ऐक्यबद्धता जनाएका छन् । दुवै पक्षबाट संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभ तथा ज्यान गुमाएकाहरूका परिवारजनमा सहानुभूति र समवेदन प्रकट पनि गरिएको थियो ।

कोभिड–१९ परास्त गर्न विश्वव्यापी एकता, सहयोग र साझेदारीमा पनि मन्त्रीहरुको जोड थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू