शुक्रबार, चैत १६, २०८०
00:45 | ०६:३०

बेलायतका साहित्यकारहरु लकडाउनको मारमा, जुमबाटै रजतउत्सव

नेपाली लिङ्क जुन ११, २०२०

लन्डन । स्थापनाको २५ वसन्त पार गरेको बेलायतस्थित जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले जुम प्रविधिद्वारा रजतउत्सव गर्ने भएको छ ।

आगामी जुलाई १२ र १३ गरि दुईदिनसम्म रजतउत्सव मनाइने भएको हो । कोरोना महामारीका कारण जमघट असम्भव भएपछि भर्चुअल कार्यक्रम गर्न लागिएको परिषद सचिवालयद्वारा जारी विज्ञप्तिमा छ ।

जुम समारोहका प्रमुख अतिथि हुनेछन् परिषद्का पदेन संरक्षक राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सुवेदी । डा. सुवेदीले कार्यक्रम उद्घाटन गर्नेछन् ।

समारोहमा साहित्यिक गोष्ठी, कवि गोष्ठी, सम्वोधन, पुरस्कार सम्मान, परिषदको नियमित वार्षिक साहित्यिक पत्रिका लालीगुरँसको विशेष रजत स्मारिका र परिषद्का सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको मौलिक कृति ’फूलको मुस्कान’ गीत संग्रह विमोचनको कार्यक्रम छ । गीतसङ्गीत आदि कार्यक्रम पनि रहेको परिषदले जनाएको छ ।

दुई दिवसीय उक्त रजतवार्षिकोत्सव कार्यक्रममा नेपालबाट पनि विशिष्ट साहित्यकारहरूको सहभागिता रहने बताइएको छ । बेलायत बाहिरका विभिन्न देशबाट पनि साहित्यकारहरूको सहभागिता रहनेछ । मौलिक रचना कविता वाचन गर्न चाहनेले आगामी ५ जुलाई २०२० भित्र परिषद्को इमेल komal.malla1@ gmail.com मा वाचन गर्ने कविताको एक प्रति पठाइ नाम दर्ता गराउन र कविता वाचनमा सहभागी कवि कवयित्रीहरूलाई प्रमाणपत्र दिइने परिषदले जनाएको छ ।

उक्त अवसरमा वाचित कविता परिषद्को साहित्यिक पत्रिका लालीगुरांसको आगामी १३ औं अङ्कमा प्रकाशित गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।

सन् १९९५(विसं २०५१), १३ जुलाइका दिन लन्डनमा स्थापना गरिएको नेपाली सहित्य विकास परिषद् यूकेले विसं २०७४ मा नेपालमा पनि शाखा खोलेर निरन्तर साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

परिषद्ले यसअघि रजतवार्षिकोत्सव तीन दिनसम्म मनाउन हयारो फुटबल क्लबको हल बुक गरेको थियो भने प्रमुख अतिथिका रूपमा नेपालबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती झिकाउने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू