शनिबार, वैशाख ८, २०८१
01:59 | ०६:४४

नेपालका विपन्न परिवारलाई बेलायतका नेपाली किशोरकिशोरीले पठाए राहत

नेपाली लिङ्क जुन ११, २०२०

लण्डन । संसारभर कोरोना संक्रमण रोक्ने प्रयासमा लागू लकडाउनसंगै अहिले नेपालमा भोकमरीको महामारीले मानिसहरु मर्ने वा विक्षिप्त बन्ने अवस्था बनेको खबर आइरहेका छन् । यही बेला बेलायतमै जन्मे हुर्केका नेपाली किशोरकिशोरीको एक समूहले नेपालमा अफ्ठेरोमा पर्ने तीनै नेपालीको सहयोगमा राहत वितरण गरेको छ ।

बेलायत बेजिङस्टोकका नेपाली युवाको समूह ‘इभोलुसन डान्स क्रु’ ले पोखरा नगरपालिका वडा न १ बगरस्थित भिमकाली पाटनका विपन्न ४० परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

गत जेठ २४ गते पोखरा नगरपालिका वडा नं १ बगरस्थित भिमकाली पाटनका ती परिवारलाई चामल, दाल, तेल, मस्यौरा, चना, मसला, नुन, चाउचाउ लगायतका दैनिक खाद्यसामग्रीहरु प्रदान गरिएको समूहका सदस्य एरिना गुरुङ र आयुशा गुरुङले जानकारी दिए । राहत वितरण कार्यका लागि पोखरामा लक्ष्मण गुरुङ र चन्दा गुरुङले सहयोग संयोजन गरेका थिए ।

राहत सामाग्री लिदै करिब साढे २ महिना लकडाउनमा परेर कामविहीन हुनेहरुले आफ्नो परिवार नै भोकमरीमा पर्न लागेको पीडादायी क्षणमा बेलायतमा रहेका स-साना नानीहरुले राहत पठाएर ठुलो धर्म गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

विदेशमै जन्मिएपनि नेपाली भावना र नेपालको मायामा ओतप्रोत किशोर किशोरीहरुको समूह ‘इभोलुसन डान्स क्रु’ ले बेलायतमा हुने विभिन्न कार्यक्रमहरुमा नेपाली कलापूर्ण सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्दै आएको छ । उनीहरुले बेलायतमा बढ्दै गरेका नयाँ नेपाली पुस्तालाई नेपाली गीत संगीत सिकाउने र विभिन्न अवसरमा समुदायमा प्रस्तुत गर्ने गर्दछन् । तीनै प्रस्तुतिबाट संकलित रकम उनीहरुले समाजसेवामा लगाउने उद्धेश्य लिएका छन् ।

समुहले विगतमा पनि पोखराको संस्कृत विद्यालयमा ईलाइब्रेरी स्थापना गरिदिएको थियो । त्यस्तै, उनीहरुले क्यान्सरपीडित बिरामीको उपचारको लागि समेत सहयोग जुटाएका थिए । यही क्रममा अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने योजना बनाएका उनीहरुले हाल कोरोनाको महामारीमा लकडाउनमा परेर काम र मामविहिन भएका विपन्न परिवारलाई सहयोग गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको झन्डै ३ महिना पुगेको बेला रोजगारी गुमाएर दैनिक खर्च चलाउन समस्यामा परेका नागरिकहरुलाई केही राहत पुगोस् भन्ने उद्धेश्यले राहत पठाइएको ‘इभोलुसन डान्स क्रु’ का कोअर्डिनेटर निश्चल गुरुङले बताए ।

यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिंदै अब चाँडै नै मुसहर लगायत अन्य समुदायका पिछडिएका विपन्न परिवारलाई पनि राहत प्रदान गर्ने योजनाअनुसार स्थानीय स्तरमा संयोजन गरिएको समुहका सदस्य शुभाशिष श्रेष्ठले बताए । समूहमा निश्चल (बिश) गुरुङ, शुभाशिष श्रेष्ठ, जेशिका आले, एरिना गुरुङ, आयुशा गुरुङ, आरुण गुरुङ, एन्जेल गुरुङ, रोशनी गुरुङ र आञ्जी गुरुङ छन् ।

आफ्ना छोराछोरीहरुले आफ्नै कला संस्कृतिको बेलायतमा प्रवर्द्धन गर्दै दुखमा परेका नेपालीहरुलाई सहयोग समेत पुर्याएकोमा गौरवान्वित भएको उनीहरुका अभिभावकहरु बताउँछन।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू