शुक्रबार, वैशाख १४, २०८१
17:33 | २२:१८

प्रथम भीसी थापाको शालिक निर्माण शुरु हुने तयारीमा

जुट्यो ७६ हजार पाउण्डको प्रतिवद्धता

नेपाली लिङ्क जुन १०, २०२०

लण्डन । बेलायतको मिनी नेपाल मानिने अल्डरसटमा बन्न लागेको प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोर्खा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको काम जुलाई पहिलो सातादेखि शुरु हुने भएको छ । शालिक निर्माण कार्य ६ महिनामा पूरा हुने आशा गरिएको छ ।

भीसी थापाको शालिक निर्माणका लागि हालसम्म नेपाली समुदायबाट ७६ हजार पाउण्ड भन्दा बढी रकमको प्रतिवद्धता जुटेको छ । जसमध्ये करिब २८ हजार पाउण्ड प्रोजेक्टको खातामा जम्मा भइसकेको छ ।

गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाका अनुसार शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड लागत अनुमान गरिएको छ । जसमध्ये आधा भन्दा धेरै रकम छोटो समयमै बेलायतस्थित पूर्व गोर्खा तथा नेपाली संघसंस्था र व्यक्तिगत रुपमा सहयोगस्वरुप प्राप्त भएको छ ।

नेपाल–बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोर्खाहरुको योगदानबारे बेलायतका नेपालीको आउँदो पुस्ताहरुलाई समेत जानकारी गराउन प्रतीकस्वरुप सो शालिक निर्माण गर्न लागिएको थापाले बताए ।

शालिक राख्ने ठाउँका लागि स्थानीय ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीले सन् २०१५ देखि रश्मोर काउन्सिलसंग अनुरोध गर्दै आएकोमा गत वर्ष उपलब्ध गराइएको थियो ।

काउन्सिलले अल्डरसट हाई स्ट्रिटको प्रिन्सेस गार्डेनमा सो शालिक राख्ने अनुमति दिएको हो । लगत्तै ग्रेटर रश्मोर नेपाली कम्युनिटीले एक कार्यदल गठन गरी संस्थाका सल्लाहकार मेजर रिटायर खिमप्रसाद गौचनको संयोजकत्वमा गोर्खा मोमोरियल प्रोजेक्ट टिम तयार गरेको थियो । जुन टिममा संस्थाका अध्यक्ष रामधन राई र महासचिव प्रमिला राईका साथै प्रोजेक्ट मेनेजरमा क्याप्टेन रि ग्यारी घले, सहसंयोजकमा संस्थाका पूर्व उपाअध्यक्ष शेर सुनार, प्रवक्तामा पूर्व अध्यक्ष ओम थापा काउचा, कोषाध्यक्षमा टोप पल्ली , सहकोषाध्यक्षमा क्याप्टेन रि. ताम ढेगा चयन भएका थिए ।

त्यसैगरी, स्थानीय काउन्सिलसंगको सहकार्य संयोजनमा संस्थाका उपाअध्यक्ष नेम थापा, मिडिया संयोजनमा निबर्तमान अध्यक्ष जीव बेल्वासे तथा सदस्यहरूमा संस्थाका उपाध्यक्षहरू रञ्जिता मल्ल, मान गुरुङ, मैया केसी ,संस्थाका सल्लाहकारहरू क्याप्टेन रि महेन्द्र लिम्बू ,क्याप्टेन रि राजेन्द्र गुरुङ, क्याप्टेनरि राजु गुरुङ, क्याप्टेन रि वीर थापा गाहामगर, क्याप्टेन रि विष्णु श्रेष्ठ, मगर संघ यूकेका अध्यक्ष लेफटिनेन्ट रि सुनिल रानामगर, श्रीमती हेमा राना मगर, बीर बलाल लगायत छन् ।

यस विशेष प्रोजेक्टको सल्लाहकारमा  ब्रिगेड अफ गोर्खाजका सबै सर्भिङ  सदस्यहरुलाई राखिएको छ र उनीहरुको संयोजन गर्ने जिम्मेवारी मेजर रि मनिकुमार राई (एमबिई) लाई दिइएको छ ।

प्रोजेक्टका प्रवक्ता थापाका अनुसार शालिक निर्माणपछि काउन्सिलले सो क्षेत्रको सुरक्षाका साथसाथै शालिकको मर्मतसम्भार र हरेक वर्ष परेडसमेत आयोजना गर्ने आश्वासन दिएको छ । तर शालिक बनाउन लाग्ने खर्च भने बेलायतका नेपाली समुदायबाटै उठाइने उनले बताए । थापाले भने, ‘यो बेलायतबासी नेपालीहरुको लागि गौरवको योजना हो । त्यसैले नेपालीहरुबाटै बाँकी पैसा उठ्ने पूर्ण विश्वास छ ।’

गत फेब्रुअरीदेखि मात्र काम शुरु गरेको प्रोजेक्टले कोरोना महामारीकै बीच करिब २८ हजार पाउण्ड संकलन गरिसकेको छ । १ हजार पाउण्डभन्दा माथि चन्दा दिनेहरुको नाम शालिकसँगैको शिलालेखमा राखिने भएपछि यस्तो ऐतिहासिक काममा सरिक हुन नेपाली संघसंस्था र समाजसेवी व्यवसायीहरुले जागरुकता देखाएका छन् । प्रोजेक्टले एकैपटक चन्दा दिन असमर्थहरुका लागि छ महिनामा किस्ता गरेर तिर्न सकिने पनि बताएको छ ।

प्रोजेक्टको मुख्य कार्यका रुपमा रहेको मूर्ति निर्माणका लागि आर्ट काउन्सिलबाट स्वीकृति मिलिसकेको छ भने प्रतिष्ठित कलाकार एमी गुडम्यानले भिसी कुलवीर थापाको मूर्ति बनाउने जिम्मा पाएकी छन् । साथै पूर्ण सम्झौतापत्र यस प्रोजेक्ट टिमको बैठकबाट पारित गरी निर्माण सम्झौतामा दुवै पक्षबाट सम्झौता गरी आउँदो जुलाई महिनाको पहिलो हप्ताबाट काम शुरू गरी ६ महिना सम्ममा तयारी गर्ने सम्झौता भइसकेको प्रवक्ता थापाले जानकारी दिए । उनले बनाएका मूर्तिहरु विभिन्न स्थानमा प्रतिस्थापन भइसकेका छन् भने उनको कलाको प्रदर्शनी पनि भइसकेको छ । पूर्ण कदको मूर्ति बनाउन करिब ६६ हजार पाउण्ड लाग्ने बताइएको छ ।

प्रशस्त चन्दा संकलन भएमा शालिकसँगै चौतारा बनाउने योजना छ । भीसी थापाको संक्षिप्त जीवनीका साथै चन्दादाताहरुको नामावली पनि शालिकको मुनी लिपिबद्ध गरी लेखिनेछ ।

बेलायतमा नेपालीहरुको आउँदो पुस्तालाई समेत गोर्खाहरुको बारेमा जानकारी होस् भन्ने उद्धेश्य राखिएको यस शालिकको निर्माणमा सक्दो सहयोग गर्न प्रोजेक्ट टिमले बेलायतबासी नेपाली र यहाँस्थित संघसंस्थाहरुलाई अपील गरेको छ । कोरोना महामारीका कारण यसअघि खासै प्रचारप्रसार गर्न नपाएको भन्दै प्रोजेक्टका प्रवक्ता थापाले ईच्छुक दाताहरुलाई यथासक्य चाँडो आफ्नो नाम र सहयोग दर्ता गर्न आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू