शुक्रबार, वैशाख ७, २०८१
07:16 | १२:०१

आजदेखि बेलायत प्रवेश गर्नेलाई २ साता अनिवार्य क्वारेन्टिन

उल्लंघन भएमा १ हजार पाउण्ड जरिवाना

नेपाली लिङ्क जुन ८, २०२०

लण्डन । अन्य मुलुकबाट बेलायत प्रवेश गर्नेहरु अनिवार्य रुपमा दुई सातासम्म ‘सेल्फ क्वारेन्टिन’ मा बस्नुपर्ने नियम सोमबारबाट कार्यान्वयनमा आएको छ ।

देशमा संक्रमण घट्दै गइरहेका बेला अन्य देशबाट आउनेहरुबाट संक्रमण फैलिन नदिने उद्धेश्यले अनिवार्य क्वारेन्टिनको नियम ल्याइएको सरकारले बताएको छ ।

सोमबारदेखि बेलायत प्रवेश गर्ने सबैले २ सातासम्म आफ्नै निजी निवासमा क्वारेन्टिनमा बस्नुपर्नेछ । हवाई मार्गका साथै स्थल र जलमार्गबाट समेत आउनेहरु क्वारेन्टिन बस्नुपर्नेछ ।

यो नियम बेलायती र गैरबेलायती सबैको लागि अनिवार्य गरिएको छ । आयरल्याण्डबाट आउनेहरु तथा कोरोना महामारीविरुद्धको लडाईंमा साथ दिन आउने मेडिकल प्रोफेसनल र अत्यावश्यक क्षेत्रमा कार्यरत रहनेलाई भने क्वारेन्टिन बस्नुपर्ने छैन ।

सेल्फ क्वारेन्टिनको नियम पालना नगर्नेहरुलाई १ हजार पाउण्डसम्म जरिवाना गरिने घोषणा सरकारले गरिसकेको छ ।

सेल्फ क्वारेन्टिनको नियम कार्यान्वयनमा आएसंगै अबदेखि बेलायत प्रवेश गर्ने क्रममा एअरपोर्टमै एक फारम भरेर बुझाउनुपर्नेछ । जसमा आफ्नो सम्पर्क नम्बरका सातै बेलायतमा २ साता क्वारेन्टिनमा बस्ने ठेगाना उपलब्ध गराउनुपर्नेछ ।

सेल्फ क्वारेन्टिनको नियम पालना भए/नभएको जाँच गर्न स्वास्थ्य अधिकारीहरुले ‘स्पटचेक’ गर्ने तथा नियम उल्लंघन भएको पाइएमा १ हजार पाउण्डसम्मको जरिवाना गर्ने बताइएको छ ।

बेलायतका एअरलाइन्स तथा ट्राभल व्यवसायी फर्महरुले भने अनिवार्य क्वारेन्टिनको नियम खारेज गर्न माग गरिरहेका छन् । महामारीका कारण धरासायी बनेका व्यवसायहरु ‘रिकभर’ हुने आशामा रहेका बेला क्वारेन्टिनले थप मारमा पारेको उनीहरुको तर्क छ ।

बेलायतका तीन प्रमुख एअरलाइन्सहरु ब्रिटिश एअरवेज, रायन एअर र इजी जेटले सरकारले ल्याएको क्वारेन्टिन नियमविरुद्ध कानुनी लडाईं समेत शुरु गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू