शुक्रबार, चैत १६, २०८०
10:33 | १६:१८

लन्डनमा अनलाइनबाटै बालबालिकालाई नेपाली कक्षा

नेपाली लिङ्क जुन ८, २०२०

लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र बन्टओक, लन्डनले अनलाइनबाटै बालबालिकालाई नेपाली कक्षा शुरु गरेको छ ।

केन्द्रले लकडाउनका कारण छुट्टीमा रहेका बालबालिकालाई गुगल क्लासमार्फत नेपाली भाषा तथा संगीत कक्षा प्रदान गरेको हो । उक्त संस्था च्यारिटीमा दर्ता भएकाले गुगलले पनि निशुल्क पहुंच दिएको छ ।

प्रत्येक शनिबार १० देखि १२ बजेसम्म अनलाइन कक्षा लिइने केन्द्रका अध्यक्ष सुमन प्रधानले जानकारी दिए ।

अध्यक्ष प्रधानका अनुसार, बालबालिकालाई पहिलो आधा घण्टा योगा गराइन्छ भने त्यसपछि एक घण्टा ‘नेपाली लेख र पढ’ कक्षा गराइन्छ । अन्तिम आधा घण्टा संगीत कक्षा हुन्छ जसमा बालबालिकाले नेपाली गीत, संगीत सिक्ने मौका पाउंछन् ।


बेलायतको च्यारिटेबल उक्त संस्थाले सन् २०१६ देखि बेलायतमै जन्मिएर हुर्किएका बालबालिकालाई निरन्तर नेपाली भाषा कक्षा चलाइरहेको छ ।

अहिले विभिन्न समूहमा २२ जना बालबालिकाले नेपाली भाषा र संगीत सिकिरहेका छन् ।
 राज्य डंगोल, वसन्त सिलवाल र भोला पनेरुले नेपाली भाषा सिकाउंछन् भने संगीत प्रशिक्षण उमेश खड्काले दिने गरेका छन् । योगा शिक्षक शम्भु आचार्य छन् । उमेरको आधार र नयां थपिने बालबालिकालाई फरक फरक समूहमा कक्षा लिइने केन्द्रले जनाएको छ ।

अनलाइन कक्षाको नेतृत्व गरिरहेका संस्थाका अध्यक्ष प्रधानले गुगल कक्षामार्फत संसारभर जोड्न सकिने भएकाले यसैलाई निरन्तरता दिने सोच भएको समेत बताए । ‘बेलायतमै जन्मिएका नेपाली बालबालिकाले आफ्नो मातृभाषा नबिर्सिउन् भन्ने हाम्रो ध्येय हो’, प्रधानले भने, ‘नेपाली कक्षामार्फत बालबालिकाले लेख्न पढ्न पनि सिकेका छन् ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू