शुक्रबार, चैत १६, २०८०
02:10 | ०७:५५

बेलायतमा लकडाउन शुरु भएयताकै न्यून मृत्यु

स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा शून्य मृत्यु

नेपाली लिङ्क जुन ७, २०२०

लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ७७ जनाको मात्र मृत्यु भएको छ ।

गत मार्च २३ मा लकडाउन शुरु भएयता एक दिनको अवधिमा रेकर्ड भएको मृत्युको संख्या यो नै अहिलेसम्मकै सबैभन्दा न्यून हो ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार पछिल्लो एक दिनमा स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा कुनै पनि मृत्यु रिपोर्ट भएका छैनन् । लकडाउनपछि कुनै मृत्यु रेकर्ड नभएको स्कटल्याण्डमा यो नै पहिलो दिन हो भने नर्दन आयरल्याण्डमा दोस्रो अवसर हो ।

यससंगै हालसम्म देशभरमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या ४० हजार ५ सय ४२ पुगेको छ ।

यसैगरी, बेलायतमा पछिल्लो एक दिनमा थप १३ सय २६ संक्रमित थपिएका छन् । हालसम्म संक्रमित हुनेको जम्मा संख्या २ लाख ८६ हजार एकसय ९४ पुगेको छ ।

विकेण्डमा रिपोर्टिङ सुस्त हुने कारण साताका अन्य दिनभन्दा मृत्यु र नयाँ संक्रमणका केसहरु न्यून देखिने गरेका छन् । तर पछिल्लो साता मृत्यु र नयाँ संक्रमण दुवै निरन्तर घट्दै गइरहेका छन् ।

संक्रमण घट्दै जाँदा बेलायतमा लकडाउन पनि क्रमशः खुकुलो पार्दै लगिएको छ । जुनको शुरुदेखि छ जनासम्मको समूहमा भेट्ने, प्राइमरी स्कुल तथा खुद्रा पसलहरु खुलाउने जस्ता लचकता लागू गरिसकिएको छ ।

जुन १५ देखि थप व्यवसायहरु सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू