शुक्रबार, चैत १६, २०८०
07:25 | १३:१०

समुदायमा कोरोना प्रभावबारे पत्रकार महासंघ युरोपको अन्तरक्रिया

नेपाली लिङ्क जुन ७, २०२०

लन्डन । नेपाल पत्रकार महासंघ यूरोप शाखाले कोरोना कहरमा नेपालीहरुको अवस्थाबारे बेलायतमा रहेका सामाजिक अभियन्ताहरुसंग अनलाइन अन्तरक्रिया गरेको छ । कोरोनाका कारण नेपाली समुदायमा परेको असर र हालको अवस्थाका बारेमा महासंघले यूरोपका विभिन्न देशमा शृंखलाबद्ध जुम अन्तरक्रिया गरेको यो अठारौं शृंखला हो ।

कार्यक्रममा लन्डनस्थित नेपाली 
दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बेलायतमा कोरोना संक्रमणबाट ६७ जना नेपालीको मृत्यु भएको र तिमध्ये ५६ पुरुष र ११ जना महिला रहेको जानकारी दिए । आरनले बेलायतमा अहिले पनि दैनिक करिब २ सयको हाराहारीमा मृत्यु हुने गरेको प्रसंग उल्लेख गर्दै सबैले बेलायत सरकारको नियम पालना र सामाजिक दुरी कायम गर्दै स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका 
थिए ।

आरनले बेलायती डायस्पोरामा करिब ३०० नेपाली संघसंस्था रहेका र एनआरएनए, पत्रकार 
महासंघ लगायत संघसंस्थाबीच राम्रो समन्वय भएको उल्लेख गर्दै राजदूतको अध्यक्षतामा उच्चस्तरीय समिति गठन भैसकेको अवस्थामा नेपालीमा कुनै समस्या देखिए दूतावासले एनआरएनए र अन्य संघसंस्थाहरुसंग समन्वय गर्दै अगाडि बढ्दै जाने बताए ।

उपनियोग प्रमुख आरनले बेलायत, माल्टा र आयरल्याण्डमा विभिन्न कारण रोकिएर रहेका नेपालीहरु नेपाल फर्किन चाहेको र हालसम्म ३५० जनाले नेपाल फर्किन नाम दर्ता गराएको पनि जनाए ।

एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले कोरोना संक्रमणको सुरुवातबाटै संस्थाले अनलाइन बैठक बसेर पहिलो चरणमा जनचेतनामूलक कार्यक्रम गरेको प्रसङ्ग उल्लेख गर्दै २४ जना चिकित्सकको समूहले स्वास्थ्य र भयमुक्त हुन सूचनामुलक परामर्श दिंदै आएको जनाए ।

उनले बेलायतका सबै संघसंस्थाहरुसंग एनआरएनएले समन्वय र सहकार्य गरिरहेको बताउंदै समस्यामा परेका नेपालीहरुलाई राहत र सहयोग निरन्तर जारी राख्ने बताएका थिए । कोरोनाका कारण मृत्यु भएका परिवार, समस्यामा रहेका भूपू गोर्खा र विद्यार्थीलाई एनआरएनएले आवश्यकता अनुसार औषधि, स्वास्थ्य सामग्री, खाद्यान्न र नगद रकम सहयोग गरेको समेत उनले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगीमगरले  परिवारको परामर्श बिना कुनैपनि सूचना मिडियामार्फत दिन नमिल्ने उल्लेख गर्दै यस विषम परिस्थितिमा कोरोनाविरुद्ध नेपाली समुदायमा जनचेतना फैलाउन बेलायतमा रहेका मिडियाकर्मीहरुको सामूहिक सहभागिताको 
प्रशंसा गरे ।

खपांगीमगरले कुनै संघसंस्था र व्यक्ति विशेषको पक्ष विपक्षमा नलाग्न आग्रह गर्दै मिडियालाई स्वतन्त्र हुन सुझाए । उनले पत्रकार महासंघ बेलायतले स्वास्थ्यकर्मी, जनस्वास्थ्य बिज्ञ लगायतको अन्तरवार्ता र कोरोना सम्बधि अन्य जानकारीमूलक सामग्री निरन्तररुपमा सबै मिडियालाई प्रदान गरेर जनचेतनामूलक कार्य गरिरहेको पनि बताए ।

नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाले सकारात्मक सन्देश जाने समाचार सम्प्रेषण गर्नुपर्ने र अहिलेको विषम परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई सुरक्षित तवरले काम गर्न सुझाव दिए । उनले बेलायतमा हालसम्म कुनै पनि नेपाली पत्रकारमा संक्रमण नदेखिएको बताउंदै प्रेस युनियन बेलायतले कोरोनाविरुद्ध सचेतना जगाउने कार्यमा आफू र सबै सदस्यहरुले समाचार सम्प्रेषण गरिरहेको बताए ।

मनोविद डा. सुमाया राईले बेलायतमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी नेपाली धेरै रहेको र उनीहरुको परिवारमा वृद्ध र दीर्घ रोगीहरु पनि रहेको अवस्थामा संक्रमणको उच्च जोखिम रहेकाले सचेत रहन आग्रह गर्दै सामाजिक दुरी राखेर सरसफाइमा ध्यान दिनुपर्ने बताइन् । योगा र ब्यायाम नियमित गर्नुपर्ने र अनावश्यक चिन्ता नलिन पनि डा. राईले सुझाव दिएकी थिइन् ।

बेलायतमा कोरोना भाइरसलाई पराजित गरेर विभिन्न जनचेतनामूलक अभियानमा लागेकी भगवती रानाभाटले आफ्नो अनुभव सुनाउंदै यस रोगलाई जित्न आत्मवल बलियो बनाउनु पर्ने, दैनिक जीवनशैली र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियामा बेलायतका सामाजिक अभियन्ता र पत्रकारहरुको सहभागिता थियो । कार्यक्रमको सहजीकरण संघका सचिवद्वय द्रोण रिजाल र महेश खाती, कार्यकारिणी सदस्यहरु रविचन्द्र भट्टराई, राजकुमार थापा, सरला कट्टेल र युवराज फुयांलले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू