बिहीबार, वैशाख २०, २०८१
22:35 | ०३:२०

बेलायतबाट नेपाल फर्किन चाहने साढे ३ सयले गरे दूतावासमा नाम दर्ता

नेपाली लिङ्क जुन ५, २०२०

लण्डनस्थित नेपाली दूतावास

लण्डन । लकडाउनकै कारण बेलायतमा रोकिएका साढे ३ सय नेपालीले नेपाल फर्किन चाहेको भन्दै लण्डनस्थित नेपाली दूतावासमा नाम टिपाएका छन् ।

विदेशमा रोकिएका नेपालीलाई फर्काउने सरकारको नीतिअनुसार दूतावासले आव्हान गरेको समयभित्र ३ सय ५० नेपालीले आफ्नो विवरण उपलब्ध गराएको दूतावासका प्रवक्ता शरदराज आरनले बताए ।

दूतावासले शुक्रबार साँझसम्म विवरण उपलब्ध गराउन भन्दै ५ दिनको समय उपलब्ध गराएको थियो । जुन समयभित्र कतिपयले विभिन्न माध्यमबाट सिधै दूतावासको सम्पर्कमा आएका थिए । त्यसैगरी, गैरआवासीय नेपाली संघ यूकेले संकलन गरेको नामावली समेत दूतावासको अन्तिम सूचीमा समावेश गरिएको छ ।

नेपाल फर्किन चाहने भन्दै दूतावासमा नाम दर्ता गर्नेमा विश्वविद्यालयका विद्यार्थी, घुम्न आएकाहरू, प्रशिक्षणका लागि आएका अर्धसरकारी कर्मचारी, परीक्षाका लागि आएका चिकित्सक, घरेलु कामदारलगायत छन् ।

दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार बेलायतबाट नेपाल फर्किन चाहने नेपालीको विवरण आउँदो सोमबार नै दूतावासले नेपाल सरकारलाई पठाउनेछ । लन्डनबाट सिधै विमान चार्टर गर्ने वा ट्रान्जिटसम्म आफ्नै तरिकाले गएर कनेक्टिङ पोइन्टबाट नेपाल लैजाने भन्ने विकल्पबारे छलफल भइरहेको उनले बताए ।

अहिले साढे तीन सय जनाको नाम संकलन भएपनि अन्तिम समयसम्म सबै शर्तहरु मानेर फर्किनेहरुको संख्या केही घट्न सक्ने ठानिएको छ । सबै साढे तीन सय नै लैजानुपर्ने अवस्थामा दुईवटा उडान चार्टर गर्नुपर्ने अवस्था आउन सक्ने समेत दूतावासको आँकलन छ ।

फर्कन चाहनेले उडान निश्चित भएपछि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षणको प्रमाण पेस गर्नुपर्ने छ भने नेपाल पुगेपछि १४ दिन आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्नेछ ।

विमानस्थल पुगेपछि प्रत्येक यात्रुलाई काठमाडौंको चक्रपथआसपास रहेका होल्डिङ सेन्टरमा राखी आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनमा पठाइनेछ । यस्तो परिस्थितिमा टिकटसमेत निकै महँगो पर्ने भएकाले आपत्कालीन अवस्थामा रहेका बाहेक अरूलाई सकभर नफर्कन सुझाव दिइएको उपनियोग प्रमुख आरनले बताए ।

नेपाल सरकारले पहिलो लटमा शुक्रबार यूएई र म्यानमारबाट नेपाली फर्काइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू