शनिबार, वैशाख ८, २०८१
21:12 | ०१:५७

ब्रिटिस आर्मीमा यस वर्ष नेपालबाट नयां भर्ती नहुने

पोहोर अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएकालाई नै मौका

नेपाली लिङ्क जुन ४, २०२०

लन्डन । कोभिड १९ महामारीका कारण ब्रिटिस आर्मीमा यस वर्ष नेपालबाट नयां भर्ती नहुने भएको छ । कोरोना भाइरसको महामारीले गर्दा ‘रेक्रुट इन्टेक २०२१’ का निम्ति नयां दर्ता र क्षेत्रीय छनोट रद्द गरिएको बेलायतको ब्रिटिस आर्मी मुख्यालयले जनाएको छ ।

मुख्यालयले आफ्नो वेबसाइटमार्फत विज्ञप्ति जारी गर्दै यसपटक असहज परिस्थितिका कारण नयांलाई अवसर दिन सम्भव नभएको जनाएको हो । यसपटक पोहोरको अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएकाहरूले नै मौका पाउने बताइएको छ ।

प्रतिस्पर्धाका निम्ति तयारी रहेका नेपाली युवाहरूले मुख्यालयले आफ्नो निर्णय सच्याउने अपेक्षा गरेका छन् । मुख्यालयका कर्णेल (महासेनानी) तथा ब्रिटिस गोर्खा नेपालका कमान्डर रिचार्ड गुडम्यानले भनेका छन्, ‘कोभिड–१९ महामारीका कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रेक्रुटिङ’ मा हुन आएको फेरबदल स्वागतयोग्य छैन् । अहिलेको समयमा भर्नाका गतिविधि सञ्चालन गर्न सम्भव छैन् । रजिस्ट्रेसन र क्षेत्रीय छनोट रद्द गरेर हामीले नेपाली जनतालाई भाइरस फैलिन रोक्न मानिस, परिवार र समुदायहरूलाई सुरक्षित रहन सहयोग गरिरहेका छौं ।’

छनोट सम्भव नभएका कारण नयां आवेदकहरूको मूल्यांकन गर्न नपाइएको उनले बताएका छन् । ‘परिस्थिति अनुकूल भए हामी यो वर्षको पछिल्लो समयमा केन्द्रीय छनोट सञ्चालन गर्नेछौं । यद्यपि जोखिम कम गर्न हामीले संलग्न हुने व्यक्तिहरूको संख्या सीमित गर्नुपर्नेछ’, उनले भनेका छन् ।

सामान्य अवस्थामा छनोटका निम्ति धरान र पोखरामा फाराम भराउने गरिएको थियो । हरेक वर्ष धरान र पोखरामा क्षेत्रीय छनोट हुने गरेको छ । क्षेत्रीय छनोटमा परेकाहरूलाई पोखरामा अन्तिम छनोटमा प्रतिस्पर्धा गराइन्छ । यसपटक गत वर्षको इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धाबाट बाहिरिएका युवालाई अवसर दिइने मुख्यालयले जनाएको छ ।

ब्रिटिस गोर्खा सैनिकको इतिहास २०६ वर्ष लामो छ । त्यसयता नेपाली युवा भर्ती हुने क्रम जारी छ । ‘इन्टेक–२०२०’ मा ४ सय ३२ जना युवा भर्ती भएर बेलायतमा तालिमरत छन् ।

बेलायतले ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती हुने गरेकामा गत वर्ष ४ सय जना भर्ती भएर आएका थिए । अहिले ब्रिटिस गोर्खामा फस्टरोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र छन् । सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि बेलायतले क्रमशः नेपालबाट भर्ती संख्या बढाउन थालेको हो । –इकान्तिपुर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू