शनिबार, वैशाख ८, २०८१
22:51 | ०३:३६

इंग्ल्याण्डमा सार्वजनिक यातायातमा ‘फेस मास्क’ अनिवार्य

नेपाली लिङ्क जुन ४, २०२०

लण्डन । इंग्ल्याण्डमा सार्वजनिक यातायातमा यात्रा गर्ने क्रममा ‘फेस मास्क’ को प्रयोग अनिवार्य गरिएको छ ।

बिहीबारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा बेलायत सरकारका यातायातमन्त्री ग्रयान्ट श्याप्सले जुन १५ देखि लागू हुने गरी इंग्ल्याण्डमा फेस मास्क अनिवार्य गरिएको घोषणा गरेका हुन् ।

रेल, बस लगायत सार्वजनिक यातायातका यात्रुले फेस मास्क प्रयोग नगरेको अवस्थामा उनीहरुलाई जरिवाना गर्न र यात्रामा रोक लगाउन सकिने मन्त्री श्याप्सले स्पष्ट पारेका छन् ।

यसअघि बेलायतमा सार्वजनिक यातायात प्रयोग गर्दा फेस मास्क लगाउन आव्हान गरिएपनि अनिवार्य गरिएको थिएन ।

फेस मास्कको नियम घोषणा गर्दै मन्त्री श्याप्सले भने, ‘सार्वजनिक यातायात चढ्दा सबैले आफ्नो मुख छोप्न अनिवार्य गरिएको छ । तर यसको मतलब स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने मास्क नै लगाउनुपर्छ भन्ने होइन । जुनसुकै रुपबाट भएपनि आफ्नो मुख छोपिएको हुनुपर्छ । जसका लागि आफ्नै घरमा तयार गर्न पनि सकिन्छ ।’

अनिवार्य फेसमास्कको नियम साना बालबालिका, अपांगता भएका मानिसहरु र श्वासप्रश्वाससम्बन्धी समस्या हुनेहरुको हकमा भने लागू नहुने उनले स्पष्ट पारेका छन् ।

बेलायत सरकारले गत मार्च २३ देखि जारी लकडाउन खुकुलो पार्दै जाँदा अनिवार्य फेस मास्कको नियम ल्याएको छ । जुन १५ देखि इंग्ल्याण्डमा थप व्यवसाय तथा पसलहरु सञ्चालनमा आउने तयारी छ ।

यसअघि पनि फेस मास्कलाई अनिवार्य गरिने चर्चा हुने गरेका थिए । तर स्वास्थ्य क्षेत्रमा कार्यरत मेडिकल प्रोफेसनलहरुकै लागि अभाव सिर्जना हुन सक्ने भन्दै सरकारले यो नियम घोषणा नगरेको ठानिएको थियो ।

फेस मास्क प्रयोगले संक्रमण रोकथाममा सहयोग नपुग्ने तर्क समेत कतिपय विज्ञले गर्ने गरेका छन् । तर पछिल्लो समय मास्कको प्रयोगबाट संक्रमण फैलिन कम हुन्छ भन्नेमा पर्याप्त प्रमाणहरु जुटिसकेको विश्वास गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू