शुक्रबार, वैशाख ७, २०८१
14:11 | १८:५६

२ मिटर दूरीको नियम हटाउने बेलायतको तयारी

नेपाली लिङ्क जुन ४, २०२०

लण्डन । बेलायतमा १० सातादेखि कायम लकडाउन क्रमशः खुकुलो पार्दै लगिएको छ ।

यहि क्रममा लकडाउन खुकुलो पार्ने अर्को चरणमा २ मिटरको दूरीसम्बन्धी नियम पनि हटाउने तयारी सरकारले शुरु गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जनजीवन थप सामान्य बनाउने क्रममा २ मिटर दूरीको नियम फुकुवा गर्न चाहेको बताएका छन् ।

बेलायती मिडियाहरुका अनुसार प्रधानमन्त्री जोन्सनले बुधबारको दैनिक कोरोना ब्रिफिङमा नै यो नियम हटाउनेसम्बन्धी एजेण्डा राखेका थिए ।

तर सरकारका वैज्ञानिक सल्लाहकारहरुले अहिले नै यो नियम हटाउनु हतारो हुने सल्लाह दिएपछि प्रधानमन्त्री पछि हटेका थिए ।

बेलायतमा कोरोना भाइरस नियन्त्रणको प्रयासमा मार्च २३ देखि लागू गरिएको लकडाउन जुन १ देखि केहि खुकुलो पारिएको छ । प्राइमरी स्कुल र केही खुद्रा पसलहरु खुलाइएको छ ।

साथै, घरबाहिर छ जनासम्मको समुहमा भेट्न छुट दिइएको छ । तर यस्ता भेटघाटहरुमा पनि २ मिटरको दूरी भने कायम गर्नुपर्ने भनिएको छ ।

कोरोनाबाट भइरहेका दैनिक मृत्यु र नयाँ संक्रमणका केसहरुको संख्या घट्दै गइरहेपनि लकडाउन खुकुलो पार्नेतर्फ सरकारले चालेका कदमहरुलाई कतिपयले हतारो गरिएको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू