बिहीबार, वैशाख १३, २०८१
06:13 | १०:५८

चार सातासम्म फेला नपरेपछि बेपत्ता बेलायती पूर्व राजदूतको खोजी कार्य घटाइयो

मे ६ देखि बेपत्ता छन् रिचर्ड

नेपाली लिङ्क जुन ३, २०२०

लण्डन । बेपत्ताा भएको चार सातासम्म पनि नभेटिएपछि नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको खोजी कार्यलाई प्रहरीले घटाएको छ ।

गत मे ६ तारिखका दिनदेखि बेलायतको हयाम्पशायर, बेन्टली क्षेत्रबाट हराइरहेका रिचर्ड प्रहरीको व्यापक खोजीबाट समेत फेला पर्न सकेका छैनन् ।

बेलायती प्रहरीले गत २८ दिनको अवधिमा रिचर्ड हराएको क्षेत्रको ९ वर्गकिलोमिटर क्षेत्रमा खोजी गरिएको जनाएको छ । ब्रिटिश ट्रान्सपोर्ट पुलिस र ह्याम्पशायर सर्च एण्ड रेस्क्यू सर्भिससंगको सहकार्यमा प्रहरीले उनको खोजी गरेको थियो ।

त्यसबाहेक प्रहरीले सो क्षेत्रमा उपलब्ध सिसिटिभी फुटेज र रिचर्ड बेपत्ता भएको दिन आसपासका सडकमा गुडेका गाडीका ड्यास क्याम फुटेज समेत संकलन गरेर उनीबारे पत्ता लगाउने कोशिस गरेको थियो ।

सो क्षेत्रको वनजंगल, दुई किलोमिटर लामो वे नदीको भाग र स्थानीय रेलवेको लामो क्षेत्रसम्म खोजी गरिएको प्रहरीको भनाइ छ ।

सबै प्रयासहरुका बाबजुद पनि रिचर्डलाई फेला पार्न नसकेको प्रहरीले उनको खोजी अभियानलाई स्केल डाउन (घटाइएको) गरिएको बताएको छ । तर उनको कुशलताको बारेमा प्रहरी संवेदनशील रहेको र उनको सोधीखोजी जारी रहने पनि प्रहरीले स्पष्ट पारेको छ ।

रिचर्डसम्बन्धी कुनै पनि सूचना हुने सर्वसाधारणलाई रिफरेन्स नम्बर ‘४४२००१६०३९८’ सहित १०१ नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।

मे ६ का दिन बिहान ‘मर्निङ वाक’मा निस्किएका रिचर्ड ह्याम्पशायरको फार्नहमनजिक बेन्टली क्षेत्रबाट बेपत्ता भएका हुन् ।

बिहान साढे १० बजे घरबाट निस्किएका उनलाई पछिल्लोपटक सोहि दिन बिहान १० बजेर ५० मिनेटको समयमा स्थानीयले एल्टनको ‘इजिङटन रोड’ मा देखेको बताएका छन् ।

प्रहरीले रिचर्डको हुलिया ६ फिट अग्लो, श्वेत वर्ण, फुलेको कपाल र दाह्री पालेको बताएको छ । उनको अनुहारमा जन्मचिन्ह छ । उनले लामो बाहुला नीलो जीपर भएको टप, कालो हाफ पाइन्ट र निलो जुत्ता लगाएको प्रहरीले जनाएको छ ।

रिचर्डले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिश राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि आउंदो जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो ।

उनका श्रीमती र तीन बालबच्चा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू