शुक्रबार, वैशाख ७, २०८१
08:48 | १३:३३

इंग्ल्याण्डमा लकडाउन खुकुलो : प्राइमरी स्कुल र थप व्यवसाय खुला

नेपाली लिङ्क जुन १, २०२०

लण्डन । बेलायतमा गत मार्च २३ तारिखदेखि लागू लकडाउन सोमबारदेखि केहि खुकुलो भएको छ । जसअन्तर्गत इंग्ल्याण्डका प्राइमरी स्कुलहरु पुन सञ्चालनमा आएका छन् ।

मानिसहरुले लामो सयमपछि छ जनासम्मको समुहमा भेट्ने छुट पाएका छन् । ओपन मार्केट, कार शो रुम लगायतका केहि व्यवसाय पनि खुला गरिएका छन् ।

कोरोना महामारीका कारण पछिल्लो १० सातादेखि बन्द रहेका स्कुलहरु सोमबार खुलेका छन् । जुनको शुरुदेखि लकडाउनमा थप खुकुलो पार्ने सरकारको योजनाअनुसार केहि प्राइमरी स्कुलहरु सोमबारदेखि सञ्चालनमा आएका हुन् ।

सरकारले रिसेप्सनका साथै वर्ष १ र वर्ष ६ का विद्यार्थीका लागि सोमबारदेखि स्कुल खुला गर्ने घोषणा गरेको थियो ।

तर कतिपय काउन्सिलहरुले संक्रमणको जोखिम हटिनसकेको भन्दै स्कुल खुलाएका छैनन् । खुला भएका स्कुलहरुमा समेत आधाजसो अभिभावकले आफ्ना बालबालिका नपठाएको बेलायती मिडियाहरुले जनाएका छन् ।

सोमबारदेखि लकडाउन खुकुलो पारिएपछि अरु केहि थप व्यवसाय समेत सञ्चालनमा आएका छन् । ओपन मार्केट, कार शोरुम लगायतका व्यवसायहरु अब सुचारु हुने भएका छन् ।

लकडाउन खुकुलो भएसंगै अब इंग्ल्याण्डमा छ जनासम्मको समुहमा भेट गर्न समेत छुट दिइएको छ । तर यस्ता भेटघाटहरुमा पनि सामाजिक दूरीको नियम भने अनिवार्य रुपमा पालना गर्नुपर्ने बताइएको छ ।

यसअघि पहिलो चरणमा खुकुलो गरिएको लकडाउनपछि आफ्नो घरबाहिरका १ जनालाई मात्र भेट्ने छुट दिइएको थियो ।

जुनको १५ देखि भने लकडाउनका कारण बन्द रहेका अन्य व्यवसाय तथा पसलहरु पनि सञ्चालन गरिंदैछ । कपडा पुल, खेलौना पसल, इलेक्ट्रिक पसल लगायतका अत्यावश्यक बाहेकका व्यवसाय पनि सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू