शुक्रबार, चैत १६, २०८०
08:10 | १३:५५

यूके बोर्डर फोर्सका झण्डै २ हजार कर्मचारीलाई कोरोना लक्षण

नेपाली लिङ्क मे ३०, २०२०

लण्डन । यूके बोर्डर फोर्समा कार्यरत झण्डै २ हजार कर्मचारीलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छ ।

कोरोना महामारी शुरु भएको पहिलो चार महिनामा फोर्सका कुल कर्मचारीमध्ये करिब १२ प्रतिशत संक्रमणको लक्षण देखिएर बिदामा बसेका हुन् ।

जनवरी शुरुदेखि अप्रिल अन्त्यसम्मको अवधिमा बोर्डर फोर्स र यूके भिजाज एण्ड इमिग्रेसन (यूकेभिआई) मा कार्यरत १८ सय ८० जना बिदामा बसेका थिए । उनीहरुमध्ये आधाभन्दा बढी बेलायतमा मार्च २३ मा लकडाउन शुरु हुनुपूर्व नै काममा आउन छोडिसकेका थिए ।

बोर्डर फोर्स कर्मचारीको प्रतिनिधित्व गर्ने कर्मचारी युनियनहरुले बोर्डर फोर्स कर्मचारीहरुको लागि आवश्यक पीपीई प्रबन्ध नभएको भन्दै आपत्ति जनाएका छन् ।

कतिपय एअरपोर्टहरुमा पासपोर्ट कन्ट्रोल डेस्कका कर्मचारीलाई पीपीई प्रयोग नगर्न निर्देशन गरिएको समेत युनियन नेताहरुले आरोप लगाएका छन् ।

यो वर्षको शुरुदेखि लकडाउन शुरु हुने मार्च २३ सम्मको अवधिमा हवाई मार्गबाट मात्रै बेलायतमा १ करोड ८० लाख बढी यात्रु भित्रिएको तथ्यांक छ । सो अवधिमा सडक तथा समुन्द्री मार्ग प्रयोग गरी आउने कुल यात्रुको संख्या २ करोड ३० लाख बढी छ ।

कोरोना भाइरस महामारीबाट अति प्रभावितमध्ये एक बेलायतमा हालसम्म ३८ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन् । यहाँ अहिलेसम्म संक्रमितहरुको कुल संख्या २ लाख ७१ हजार कटिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू