शनिबार, वैशाख १५, २०८१
01:25 | ०६:१०

‘लकडाउन र सामाजिक दूरी’ बिर्सेर रमाउन थाले बेलायतवासी

पार्कहरुमा देखिन थाल्यो भीड

नेपाली लिङ्क मे २९, २०२०

लन्डन । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) का कारण बेलायत लकडाउनको नवौं हप्तामा गुज्रिरहेको छ । बेलायतमा हालसम्म कोरोनका कारण ज्यान गुमाउनेको संख्या सरकारी तथ्यांकअनुसार ३७ हजार कटिसकेको छ ।

अत्यावश्यक बाहेकका पसलहरु पूर्ण रुपमा बन्द छन् । अनावश्यक रुपमा बाहिर ननिस्कन भन्दै सम्भव भएसम्म घरबाट नै काम गर्न सरकारले निर्देशन जारी गरेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले ‘फर्लो स्कीम’ लागू गरेको छ जसअनुसार घरमै बसेर ८० प्रतिशतसम्म तलब भुक्तानी गरिन्छ । घरबाहिर निस्कनु परेको खण्डमा कम्तिमा दुई मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने देखि जरिवाना समेत व्यवस्था गरिएको छ ।

नियम कानूनको दृष्टिकोणले बेलायत निकै नै संवेदनशील छ । तर, यस्ता नियम कानून र ज्यानकै जोखिमको रुपमा फैलिएको कोरोनाको महामारीलाई बेलायती जनताले मात्र नभई बेलायतका उच्च ओहोदाका व्यक्तिले समेत टेरेनन् ।

स्कटल्याण्डकी ‘चीफ मेडिकल अफिसर’ डा क्याथरिन केलरवुडले लकडाउनको नियम उलंघन गरेका कारण राजिनामा दिनुपर्यो । बेलायतमा ‘लकडाउन’ को शिफारिस गर्नेमध्येकै एक प्राध्यापक निल फर्गसनले आफूबाट सामाजिक दूरीको नियम उल्लंघन भएको स्वीकार्दै पदबाट राजीनामा दिए । लकडाउनको पालना नगरेको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनका प्रमुख सल्लाहकार डोमिनिक कमिङ्गको व्यापक आलोचना भइरहेको छ । उनकै विषयमा असहमति राख्दै ‘स्टेट अफ स्कटल्याण्ड’ का अन्डर सेक्रेटरी डग्लास रोसले राजीनामा घोषणा गरे ।

हालसम्म कुनै पनि औषधि पत्ता नलागेको अवस्थामा ‘कोभिड १९’ बाट जोगिन आफू स्वयं नै सावधानी रहनुबाहेक अन्य विकल्प छैन । लकडाउनको सुरुवातदेखि नै बेलायतमा लकडाउन उल्लंघनका छिटपुट घटना हुदै आइरहेका छन् । तर लकडाउन लम्बिदै जाँदा र बेलायतको मौसम परिवर्तनका कारण कोरोनाबाट हुने जोखिम बिर्सिएका छन् बेलायतवासीले ।

लकडाउन खुकुलो पार्दै बढीमा दुई परिवारबीच सामाजिक दूरी कायम गर्दै पार्कमा गएर भेट्न पाउने सरकारको पछिल्लो नीतिले गर्दा मानिसहरुले निकै राहत महशुस गरेका छन् । तर सरकारको यो पछिल्लो निर्देशनलाई बेलायतका जनताले पूर्ण रुपमा अवज्ञा गरेका छन् । प्रत्येक पार्क तथा समुन्द्रका किनारहरुमा पुग्दा मानिसहरुले आफूलाई स्वतन्त्र महशुस गर्दै कोरोनालाई बिर्सने गरेका छन् । अहिले दैनिकजसो पार्कहरुमा खाने, पिउने, नाचगान गर्ने लगायतका विभिन्न क्रियाकलाप गरेको देख्न सकिन्छ ।

नर्थला फिल्ड पार्कमा लकडाउनको चहलपहल

ग्रेटर लन्डनअन्तर्गत वेष्ट लन्डन नर्थहल्टमा पर्ने ‘नर्थला फिल्ड’ यहाँका पार्कहरुमध्येको आकर्षक र ठूलो मानिन्छ । सन् २००८ बाट सर्वसाधारणका लागि सञ्चालन गरिएको उक्त पार्क निकै रमणीय छ ।

करिब २६ मिटर अर्थात ८४ फिट उचाई रहेको मानवनिर्मित पहाडबाट वेम्बली स्टेडियम, पोष्ट अफिस टावर, लन्डन क्यानरी वार्फ टावर लगायत ३६० डिग्री पानोरामिक दृश्य अवलोकन गर्न सकिन्छ । जुन पहाड निर्माण गर्नको लागि वेम्बली स्टेडियम, व्ह्वाइट सिटी, हिथ्रो टर्मिनल फाइभ लगायत विभिन्न स्थानहरुका भग्नावशेष प्रयोग गरिएको हो । उक्त क्षेत्रमा साना साना माछा मार्ने पोखरी, बोटिंग गर्ने पोखरी, वन्यजन्तु पोखरी, बच्चाहरुको लागि ‘प्ले ग्राउण्ड’ लगायतका विभिन्न आकर्षण छन् ।

यस पार्कमा प्रत्येक दिन सयौंको संख्यामा मानिसहरुको जमघट हुने गर्छ । यहाँको दृश्यलाई देख्दा लाग्छ लकडाउन पूर्ण रुपमा खुलिसकेको छ, या त मानिसहरु मृत्युसंग डराउन छाडिसकेका छन् । सबैजना खाने पिउने र मोजमस्तीमा व्यस्त देखिन्छन् । न त सामाजिक दूरी कायम गरेको देखिन्छ, न त सरकारले तोकेअनुसार संख्यामा मात्र सिमित छ ।

हुन त बेलायतका पार्कहरुमा मात्र नभएर समुन्द्रका किनारहरुमा पनि लकडाउनको उल्लंघन प्रशस्त भएका छन् । लकडाउन उल्लंघन गर्नेहरुमाथि कारवाही पनि भएका छन् ।

लकडाउनको नवौं हप्ता बिताउंदै गर्दा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो जुन १ र जुन १५ तारिखबाट लकडाउन सहज पार्दै  केहि निश्चित रिटेलहरु खोल्न पाउने र ‘प्राइभेट गार्डेन’ तथा ‘आउटडोर’ मा दुई मिटरको दूरी कायम राख्दै बढीमा ६ जनासम्मको समूहमा भेटघाट गर्न सकिने  घोषणा गरेसंगै बेलायतवासी थप उत्साहित बनेका छन् ।

बेलायतवासीहरु लामो समयसम्म घर तथा पार्कमा मात्र सिमित जीवनशैलीलाई परिवर्तन गर्न आतुर देखिन्छन् । कोरोनाको संक्रमणलाई पराजित गरेर पहिलाकै जस्तो सामान्य जीवन बिताउने सबैलाई रहर जागेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू