बुधबार, वैशाख १२, २०८१
12:49 | १७:३४

जुन १ देखि थप खुकुलो हुँदै बेलायतको लकडाउन

६ जनासम्मको समूहमा भेट्न छुट

नेपाली लिङ्क मे २९, २०२०

लन्डन । आउँदो  जुन १ देखि बेलायतको लकडाउन थप खुकुलो हुने  भएको छ ।

बिहीबारको दैनिक ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले यो जानकारी गराएका हुन् ।  

गत मार्च २३ तारिखबाट सुरु भएको लकडाउन अहिले  नवौं हप्तामा चलिरहेको छ ।

प्रधानमन्त्री जोन्सनले ‘प्राइभेट गार्डेन’ तथा ‘आउटडोर’ मा दुई मिटरको दूरी कायम राख्दै बढीमा ६ जनासम्मको समूहमा भेटघाट गर्न सकिने बताएका छन् ।

सरकारले लकडाउन खुकुलो पार्न आवश्यक भनेका पाँच आधारहरु तयार भएको भन्दै प्रधानमन्त्रीले लकडाउनको नयाँ चरणमा प्रवेश गर्न लागिएको स्पष्ट परेका छन् ।  

लकडाउनमा ल्याइने सहजतासंगै लामो समयसम्म टाढिनुपरेका आफन्त तथा इष्टमित्रबीच भेटघाट गर्ने बाटो खुल्नेछ ।

प्रधानमन्त्री जोन्सनले लकडाउनका कारण सबैले लामो समयदेखि प्रतिक्षा गरिरहेको आफ्ना प्रियजनसंगको पुनर्मिलन अब सम्भव हुने बताएका छन् । तर सकेसम्म धेरै परिवारका सदस्यहरु नभेट्न र सामाजिक दूरीको नियम कायम गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।  

प्रधानमन्त्रीले घोषणा गरेको लकडाउनको यो लचकता अहिलेको लागि इंग्ल्याण्डको लागि मात्रै लागू हुनेछ । अन्य राज्यहरु आ-आफ्नै व्यवस्था गर्न स्वतन्त्र रहनेछन् ।

यसअघि सरकारले एक पटकमा आफ्नो घरभन्दा बाहिरको एक जनालाई घरबाहिरै भेट्न छुट दिएको थियो । जसले गर्दा फरक घरमा बस्ने छोराछोरीले आफ्ना बाबुआमालाई समेत भेट्न मिल्ने अवस्था थिएन ।  

संक्रमणका नयाँ केस र दैनिक मृत्‍युका संख्या घट्दै जाँदा जुन १ देखि सरकारले प्राइमरी स्कुल संचालनमा ल्याउने तयारी गरेको छ ।  जुनको १५ देखि भने अत्यावश्यक बाहेकका अन्य रिटेल व्यवसाय समेत खुलाउने योजना बनाइएको छ ।  

बेलायतमा पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट ३ सय ७७ जनाको ज्यान गएको छ । अहिलेसम्म मृतकको कुल संख्या  ३७ हजार ८ सय ३७ पुगेको छ ।  

देशभरमा हालसम्म २ लाख ६९ हजार १ सय २७ संक्रमित भएका छन् ।  पछिल्लो एक दिनमा १ हजार ८ सय ८७ नयाँ केस थपिएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू