मंगलबार, वैशाख ११, २०८१
17:21 | २२:०६

पोखरा नेपाल यूके फाउन्डेसनको सहयोगमा पोखरामा राहत वितरण

नेपाली लिङ्क मे २८, २०२०

लण्डन । पोखरा नेपाल यूके फाउन्डेसनको आर्थिक सहयोगमा पोखरामा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । फाउन्डेसनले स्थानीय संघसंस्थालाई परिचालन गरि राहतस्वरुप खाद्यान्न वितरण गरेको हो ।  

‘जक्सन ग्रुप’ मार्फत लकडाउनको मारमा परेका निम्न वर्गका ६५ परिवारलाई खाद्यान्न वितरण गरिएको हो । करिब साढे २ लाख बराबरको खाद्यान्न वितरण गरिएको जक्सन ग्रुपले जनाएको छ ।

फाउन्डेसनको सहयोगमा पोखरा साँगीतिक कलाकार संघले पनि राहत वितरण गरेको छ । संघले पोखरा महानगरपालिका-६ बैदामका ५३ घरपरिवारका लागि खाद्यान्न वितरण गरेको हो ।

‘पोखरा नेपाल यूके फाउण्डेसनको सहयोगमा गरिब तथा विपन्न परिवारका लागि राहत वितरण गरेका हौं’- संघका अध्यक्ष संगीतकार सुनिल थापाले भने- ‘फाउण्डेसनका अध्यक्ष भिम महेन्द्र गुरुङ र जगत गुरुङको सहयोगमा पोखराका २ वडामा राहत वितरण गरियो ।’

राहतमा एक बोरा चामल, दाल, तेल, नुन, सोयाविन, मसला तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि सहयोग गरिएको संघका सचिव राजेन्द्र अधिकारीले जानकारी दिए ।

पोखरा-६ लेकसाइडका जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवारका लागि राहत वितरण गरिएको हो । 

पोखराको पर्यटकीय गन्तव्य लेकसाइडका होटल तथा रेष्टुरेण्ट लकडाउनका कारण पूर्ण रुपमा बन्द भएपछि त्यहाँ आश्रित मजदुरहरुलाई यतिबेला संकट परेको छ ।

यसअघि संघले फाउण्डेसनकै  सहयोगमा पोखरा महानगरपालिका ३, नदीपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि पनि राहत वितरण गरेको थियो ।

पोखरा नेपाल यूके फाउन्डेसनका अभियन्ताद्वय भीम महेन्द्र गुरुङ (दाँया) र जगत गुरुङ

पोखरा घर भइ बेलायत बस्दै आएका भीममहेन्द्र गुरुङ र जगत गुरुङको पहलमा पोखरा नेपाल यूके फाउन्डेसन स्थापना भएको हो ।   फाउन्डेसनले नेपालमा विभिन्न विपतका बेला सहयोग गर्दै आएको छ ।

फाउन्डेसनले यूकेमा रहेका नेपालीहरुसँग करिव ११ लाख रुपैयाँ चन्दा उठाएर पोखरामा सहयोग गरेको छ । यो अभियानमा यूकेका २ सय बढी नेपालीले योगदान गरेका छन् ।

‘यूकेमा रहेपनि नेपाललाई दुख्दा नेपाली मन नदुख्ने कुरै भएन’- फाउन्डेसनका अभियन्ताद्वय भीममहेन्द्र र जगत भन्छन्, ‘त्यही भएर हामीले सकेको सहयोग गरेका हौँ । आगामी दिनमा पनि समस्यामा परेका नेपालीहरुको लागि सहयोग गर्दै जानेछौं ।’ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू