बिहीबार, वैशाख २७, २०८१
22:44 | ०३:२९

रोग त छंदैछ, देशले भोकसंग पनि लड्नुपर्ने भयो: पूर्व प्रधानमन्त्री नेपाल

बेलायतका व्यवसायीसंग पूर्वप्रधानमन्त्री नेपालको छलफल

नेपाली लिङ्क मे २८, २०२०

लण्डन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोना महामारीका कारण देशको आर्थिक समृद्धिको यात्रामा ठूलो धक्का लागेको बताएका छन् ।

बेलायतस्थित नेपाली व्यवसायीहरुसंगको अनलाइन साक्षात्करमा सत्तारुढ नेकपाका वरिष्ठ नेता समेत रहेका नेपालले देशले रोगसंग मात्र नभइ भोकसंगको लडाईं गर्नुपर्ने अवस्था आएको बताए ।

अर्थतन्त्र नै रेमिटेन्समा धानिएको देशमा महामारीका कारण विदेशमा कार्यरत धेरैको रोजगारी गुमाउने अवस्था सिर्जना भएको भन्दै नेता नेपालले देशको आर्थिक विकास नै ऋणात्मकतर्फ धकेलिने जोखिम बढेको बताए ।

देशको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि प्राविधिक तथा व्यवसायिक शिक्षाको प्रवर्धन र कृषिको व्यवसायीकरण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता रहेको नेता नेपालको भनाइ थियो ।

नेपालमा जुनसुकै संकट आइपर्दा विदेशी मित्रराष्ट्रहरुका साथै गैरआवासीय नेपालीहरुबाट समेत ठूलो सहायता मिल्ने गरेको भन्दै उनले आभार प्रकट गरे ।

विदेशमा रहेका सबै नेपालीहरुबारे सरकार सचेत र गम्भीर रहेको र त्यसैअनुसार प्राथमिकतासहित उनीहरुको उद्धारको योजना तय भइसकेको नेता नेपालले जानकारी गराए । आवश्यक सबै प्रक्रिया र सुरक्षाको प्रबन्ध मिलाइएपछि उनीहरु देश फर्किन सक्ने वातावरण बन्ने विश्वास उनले व्यक्त गरे ।

भारतसंग सीमा विवाद लामो समयदेखि थाती रहेको विषय भन्दै नेता नेपालले भने, ‘महाकाली नदी हाम्रो सीमा हो भन्नेमा हामी दुवै देश सहमत छौं । हामीले मूल नदीबाट सीमा हुनुपर्छ भनेका छौं, उनीहरुले अर्को सानो खोला देखाइरहेका छन् । कुटनीतिक माध्यमबाटै समाधान निकाल्न सक्छौं भन्ने हाम्रो विश्वास छ ।’

त्यसअवसरमा एनआरएनए आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्यले संसारका अन्य सबै मुलुकले जुनसुकै मुल्य चुकाएर पनि आफ्ना नागरिक स्वदेश फिर्ता गरिरहेको सन्दर्भमा नेपालले पनि तत्काल आफ्ना नागरिकहरु उद्धारको कार्य थाल्नुपर्ने बताए ।

मध्यपूर्व क्षेत्रमा कार्यरत धेरै नेपाली श्रमिक ठूलो समस्याबाट गुज्रिएको र कतिपय आत्महत्या गर्न बाध्य बन्ने अवस्थासम्म पुगेको उनले जानकारी गराए । संसारभर रहेका नेपालीलाई आफ्नो सरकार अनुत्तरदायी हो कि भन्ने महसुस भएको भन्दै आचार्यले सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए ।

ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजालले महामारीका बेला देशका उद्योग, व्यवसायलाई विशेष संरक्षण प्रदान गर्नुपर्ने धारणा राखे । बेलायतसहितका विश्वका धेरै मुलुकमा सरकारहरुले आर्थिक रुपमा ठूलो राहत उपलब्ध गराएको उदाहरण उनले प्रस्तुत गरे । विदेशमा विभिन्न सीप, अनुभव र पूंजी कमाएका नेपालीलाई देशको आर्थिक विकासमा सदुपयोग गरिनुपर्ने डा रिजालको सुझाव थियो ।

एनआरएनए केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डितले देशमा दण्डहिनता र भष्ट्राचारको अन्त्य हुन नसकेकै कारण धेरै समस्याहरु सिर्जना भएको धारणा राखे । एनआरएनए आइसीसीका पूर्व उपाध्यक्ष क्याप्टेन हितमान गुरुङले सीमा सुरक्षाको लागि तारबारको व्यवस्था गरिनुपर्ने भन्दै आवश्यक खर्च जुटाउन संसारभरका नेपाली आर्थिक सहयोग गर्न तयार रहेको बताए ।

व्यवसायी एवम् एनआरएनए अभियन्ता कृष्ण भट्टले देशमा जातीय भेदभावको समस्या नहटेको, राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई अनावश्यक दुःख दिइने गरेको जस्ता समस्याहरु समाधानका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताए ।

बेलायतका लागि नेपाल पर्यटन बोर्डका पूर्व दूत एवम् व्यवसायी पशुपति भण्डारीले व्यस्तताबीच अनलाइन साक्षात्करमा सहभागी भएर चासोका विविध विषयमा महत्वपूर्ण जानकारी गराएकोमा पूर्व प्रधानमन्त्री नेपालप्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको संयोजन तथा सञ्चालन ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष बिराज भट्टले गरेका थिए । विदेशमा रहेका नेपालीहरुको समस्या र उनीहरुका भावनाबारे नेपालको उच्च राजनीतिक तहलाई सचेत गराउने लक्ष्यले एक अनौपचारिक साक्षात्कर गरिएको भट्टले बताए ।

त्यस अवसरमा एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेना, एनआरएनए अभियन्ता तथा व्यवसायीहरु चिरञ्जिवी ढकाल, कमल भण्डारी, विपी खनाल, वरिष्ठ पत्रकार भगिरथ योगी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सआबद्ध व्यवसायीहरु कमल पौडेल, सन्तोष मण्डल, पत्रकार जगन कार्की लगायतको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू