बिहीबार, वैशाख १३, २०८१
14:01 | १८:४६

बेलायतमा कोरोनाले अर्का गोर्खा राईको निधन

कोभिड १९ का कारण बेलायतमा मृत्यु हुने गोर्खाको संख्या ५४

नेपाली लिङ्क मे २७, २०२०

 

लन्डन । कोभिड १९ का कारण बेलायतमा अर्का एकजना भूतपूर्व गोर्खाको निधन भएको छ ।

बेलायतको ग्रेज बस्ने ६१ वर्षीय जीतेन्द्र राईको मंगलबार अपरान्ह साढे ५ बजे निधन भएको आफन्त एवं थर्रोक नेपलिज गोर्खाज् कम्युनिटीका अध्यक्ष मानबहादुर राईले नेपाली लिंकलाई जानकारी दिए ।

७ जिआरबाट अवकास प्राप्त राईको आर्मी नं २११६३८८७ हो ।

पुरख्यौली घर खोटाङ जन्तेडांडा-३ भएका स्वर्गीय राईको पछिल्लो समय उदयपुरमा बसाइ थियो । गत डिसेम्बरमा मात्र बेलायत आएका उनी लामो समय यूकेमा बसेपछि नेपाल फर्किएर यहां अस्थायी रुपमा आवतजावत गर्दथे । यूकेमा उनका तीन छोरा छन् भने श्रीमती नेपालमै छिन् ।

थर्रोक नेपलिज गोर्खाज् कम्युनिटी अध्यक्ष राईका अनुसार, स्वर्गीय राईको उच्च ब्लड प्रेसर थियो । श्वासप्रश्वासमा समस्या, उच्च तापक्रम र खोकी बढेपछि उनी तीन हप्ता घरैमा ‘आइसोलेसन’ मा बसेका थिए । त्यसपछि पनि निको नभएर उनी एसेक्सको बासिल्डन अस्पताल भर्ना भएका थिए । अस्पतालमा एक महिना लामो उपचार गर्दा पनि उनलाई चिकित्सकले बचाउन सकेनन् । कोरोनाका कारण अन्तिम अवस्थामा ‘मल्टी अर्गान फेलर’ भएर उनले देहत्याग गरे ।

केही सातायता कोरोना संक्रमण र मृत्युदरमा कमी आइरहंदा सामान्य जनजीवनतिर फर्कन खोजिरहेका नेपाली राईको निधनले पुनः त्रसित भएका छन् ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीमध्ये धेरैजसो भूतपूर्व गोर्खा छन् । लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार ५३ जना भूतपूर्व गोर्खाले कोभिड १९ कै कारण बेलायतमा ज्यान गुमाइसकेका छन् । स्वर्गीय राईसहित यसबाट मृत्यु हुने भूतपूर्व गोर्खाको संख्या ५४ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू