बिहीबार, वैशाख ६, २०८१
17:33 | २२:१८

तमु समाज यूकेद्वारा पोखरामा सय परिवारलाई राहत

रासस मे २७, २०२०

पोखरा । तमु समाज यूकेको आर्थिक सहयोगमा पोखरा-९ का करिब एक सय परिवारलाई राहत वितरण गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेको उपस्थितिमा पोखरा प्रदर्शनी केन्द्रमा सामाजिक दूरी कायम गर्दै चामल, दाल र तेल राहतस्वरुप वितरण गरिएको तमु समाज यूके आमा समूहका संस्थापक अध्यक्ष माया गुरुङले जानकारी दिइन् ।

गुरुङले भनिन्, ‘भौतिक शरीर जहाँ भए पनि भावानात्मक माया देशसँग जोडिएको छ । थोरैथोरै रकम सङ्कलन गरेर नेपालका विपन्न परिवारको हातमुख जोड्ने सेवामा जुटेका छौँ ।’

उनका अनुसार ज्याला मजदूरी गर्ने पयर्टन मजदूर, सार्वजनिक सवारी साधनका चालक र नेपालमै बसेर काम गरिरहेका भारतीय मजदूरको पहिचान गरी राहत वितरण गरिएको हो ।

राहतका लागि तमु समाज यूकेबाट रु ५० हजार, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान उपाध्यक्ष विजु गुरुङलगायतको परिवारबाट रु ४० हजार र आफ्ना व्यक्तिगत तर्फबाट रु १० हजार गरेर एक लाखको राहत वितरण गरिएको उनले जानकारी दिइन् ।

त्यस अवसरमा वडाध्यक्ष लामिछानेले असहज अवस्थामा परोपकारी मनहरुको सहयोगले वडामा कसैको घरमा पनि आगो निभ्न नपाएको बताए ।

‘महानगरले ६ सय ८८ परिवारका लागि रु १० लाख ८० हजार उपलब्ध गराएको थियो । वडामा १९ सय ४५ जनाको निवेदन परेको थियो । यहाँ धेरै ज्याला मजदूरी गर्नेहरु हुनुहुन्छ, बन्दाबन्दीले उहाँहरुलाई प्रत्यक्ष असर पारेको छ । विभिन्न संघसंस्थाको सहयोगले राहतको माग गर्ने सबैलाई वितरण गर्न सफल भयौँ ‘, लामिछानेले भने ।

उनका अनुसार अवस्था हेरेर अहिलेसम्म वडामा दुई हजार ६ सय ४९ परिवारलाई करिब रु ३५ लाखको राहत वितरण गरिसकिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू