शनिबार, वैशाख ८, २०८१
14:22 | १९:०७

गोलुले कोरोनालाई जित्यो

बाल कथा

लारा मे २६, २०२०

गोलु हात्ती

कल्लु काग

चंखे खरायो

टिल्लु बाँदर

लम्बु जिराफ

डा. भोलु (भालु)

गोलु हात्ती कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएको खासखुस केहिदिन अघिमात्रै सुईंके स्याल र खसखसे दुम्सीले गरेका थिए। सोहि खासखुसलाई कल्लु कागले सिसौ बनभरि हल्ला फिंजाएछ । लौ ! अब सिसौ बनमा पनि त्यो संक्रमण फैलिने भो भनेर सबै बासिन्दाहरु डराएका छन् ।

अत: आज सिसौ बनको चौतारीमा सामाजिक दूरी कायम राख्दै सिसौ बनका बासिन्दाहरु, सिसौ बनलाई कोरोना प्रभावमुक्त कसरी बनाउने भनेर छलफल गर्न भेला भएका छन् ।

बैठकमा सबैले आ-आफ्नो धारणा र सुझावहरु राखे । सबैको कुरा सुनिसकेपछि नजिक उभिएका लम्बु जिराफ लामो घांटी तन्काउँदै शान्त स्वरमा सम्झाउँछन्- ‘कल्लु कागले हल्ला फिंजाउँदैमा उसको पछि लाग्ने?’ कुरा नबुझी नै हामी अनेक अड्कल बाजी नगरौं साथी हो । सबैलाई गोलुको स्वास्थ्य र अवस्थाबारे अवगत गराउंदै भन्छन्, ‘गोलुले कोरोनालाई जित्यो ।’ उनी थप अवगत गराउँछन्, ‘ची चीको गोलुसंग दैनिक फोनमा सम्पर्कमा भईरहेको छ । गोलु त अस्पतालदेखि भोलि डिस्चार्ज भएर घर आउंदैछ ।

गोलु अस्पतालदेखि डिस्चार्जदेखि भएर सिसौ बन फर्किने खबर सुनेर चंखे खरायो बुरुक्क उफ्रन्दै भन्छ- ‘गोलु अस्पतालदेखि सोझै सिसौ बन आउनु हुँदैन । गोलु बाहिर क्वारेन्टिनमा बस्नुपर्छ, सिसौ बनमा प्रवेश दिनुहुन्न ।’

घरि यता, घरि उता उफ्रन्दै गरिरहेको टिल्लु बाँदर आफ्नो शरीर कन्याउँदै भन्छ- ‘उता हाम्रो मामाघर सुन्दर बनमा पनि कोरोना संक्रमण निक्कै फैलिसकेछ । सोचौं है ! सोचौं !’ टिल्लु डर देखाउनु खोज्छ ।

लम्बु जिराफले टिल्लुको कुरा काट्दै भन्छ, गोलु हाम्रो छिमेकी र असल मित्र पनि हो । यस्तो परेको बेला नै असल छिमेकी र मित्रको पहिचान हुन्छ । कोरोना लाग्नु भनेको कुनै अपराध हैन । अस्पतालदेखि स्वास्थ्य भई डिस्चार्ज भएर आफ्नै घर, परिवारको रेखदेखमा बाहिरको सामाजिक संजालको दूरी राखेर बस्छ भने हामीलाई आपत्ति हुनुहुँदैन ।

उता, अस्पतालमा कोरोनालाई जितेर भोलि घर फर्किनु पाएको खुशीमा गोलु दंग छ । उनको उपचारमा खटेका  डा. भोलु (भालु) गोलुलाई बधाई दिंदै ‘तपाईंले कोरोनालाई जित्नु भयो । दवाईले नगरेको काम दुवा (प्राथना) ले गर्छ भनिन्छ । स्वास्थ्यकर्मीहरुको उपचारले मात्रै नभएर तपाईको आफ्नै आत्मबिश्वास अनि आफन्तहरुको शुभकामना र प्रेमको शक्तिले पनि तपाईलाई बचाएको छ ।’

‘हो कि, क्या हौ !’ आफ्नो मित्र ची ची ले फोनमा उनलाई दिएको हौसला सम्झिन्छ गोलु । आफन्त-परिवार र सिसौ बनका सबैलाई सम्झिएर गदगद हुँदै- ‘मैले कोरोनालाई जितें ।’

यतिबेला, गोलु शारीरिक र मानसिक दुवै तवरले आफूलाई पूर्णरुपमा स्वस्थ्य महसुस गर्दछ ।

समाप्त ।

मणि निवास
बालुवाटार, काठमाडौं
२४ मे, २०२०

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू