बिहीबार, वैशाख ६, २०८१
05:49 | १०:३४

बेलायतमै जन्मिएका १५ वर्षीय शुभाशिषले लेखे मोदीलाई पत्र

नेपाली लिङ्क मे २३, २०२०

लण्डन । नेपालको भूभाग मिचेर भारतले चीन जोड्ने बाटो खालेपछि अहिले नेपाल भारत सम्बन्धमा एउटा तरंग आएको छ । नेपाली र भारतीय मिडियाहरु यतिबेला आआफ्नो पक्षका दाबीलाई पुष्टि गर्न लागिरहँदा केहि भारतीय मिडिया तल्लो स्तरमा उत्रिएर नेपालमाथि आरोप थोपर्ने काम गरिरहेको देखिएको छ ।

भारतीय सेनाका भूतपूर्व र बहालवाला जर्नेलहरु समेत मिडियाबाजीमा उत्रिरहेका छन् । नेपालीहरुले पनि आआफ्नो ठाउँ ठाउँबाट आवाज उठाइरहेकै छन् । देशभित्रबाट मात्रै नभएर संसारभर छरिएका नेपालीहरुले समेत भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणको विरोध गरिरहेका छन् ।

यसै क्रममा बेलायतमा जन्मिएका एक १५ वर्षीय नेपाली मुलका विद्यार्थीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो असन्तुष्टी लेखेर पत्र नै पठाएका छन् । प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै बेलायतको बेजिङस्टोकमा बस्दै आएका शुभाशिष श्रेष्ठले पत्र पठाएका हुन् । उनको पत्र प्राप्त भएको जानकारीसहित भारतीय प्रधानमन्त्रीको कार्यालयले एक जवाफ समेत फर्काइसकेको छ ।

आफ्नो पत्रमा शुभाशिषले नेपाल र भारतबीच देशस्तरमा मात्र नभएर जनताको तहमा समेत सुमधुर सम्बन्ध रहेको तर सीमा विवादको सन्दर्भमा भारतीय पत्रकार र सेनाका पूर्व जर्नेलहरुको अभिव्यक्ति सम्मानजनक नभएको गुनासो गरेका छन् । उनले बेलायतमा आफ्ना धेरै भारतीय साथी रहेको तथा बेलायतमा समेत नेपाली र भारतीय समुदायको सम्बन्ध राम्रो भएको उल्लेख गरेका छन् ।

भविष्यमा मिडिया क्षेत्रमा काम गर्ने आफ्नो सोच रहेको र विश्वका घट्नाक्रमलाई नजिकबाट नियाल्ने गरेको बताउँदै शुभाशिषले केहि वर्ष अगाडिको भूकम्पमा नेपाललाई सहयोग गरेकोले नेपालमा प्रधानमन्त्री मोदी धेरै नै लोकप्रिय भएको तर अहिलेको सीमा विवाद र भूकम्पलगत्तै भएको आर्थिक नाकाबन्दीका उनको लोकप्रियता ओरालो लागेको स्मरण गराएका छन् । प्रधानमन्त्री मोदीलाई प्रश्न गर्दै उनले सोधका छन्, ‘के नेपाल भारत सम्बन्ध भारतीय मिडिया र कर्मचारीतन्त्रले निर्धारण गर्ने हो ?’

भारतका पूर्व राष्ट्रपति स्वर्गीय एपीजे अब्दुल कलामले बालबालिकाका कुरा उत्सुकतापूर्वक सुन्ने गरेको स्मरण गराउँदै शुभाशिषले प्रधानमन्त्री मोदीले पनि बालबालिकाका कुरा सुन्ने आशामा पत्र लेखेको स्पष्ट पारेका छन्।

ओखलढुंगा पुख्र्यौली भइ हाल बेलायतमा परिवारसहित बस्दै आएका शुभाशिष नेपाल प्रहरीका पूर्व डिएसपी शिवजी श्रेष्ठका छोरा हुन् । ‘अल्डवोर्थ स्कुल’ मा अध्ययनरत शुभाशिषले पठाएको पत्रमा प्रधानमन्त्री कार्यालयका उपसचिव अम्बुज शर्माबाट जवाफ प्राप्त गरेका छन् ।

‘भारतले नेपालको भूभाग मिचेर सडक बनाएको समाचार आएदखि नै मैले यसलाई फलो गरिरहेको थिए । झन् भारतीय मिडिया र सेनाका जर्नेलहरुको व्यवहार र अभिव्यक्ति सुनेपछि मन थाम्न नसकेर मैले भारतीय प्रधानमन्त्रीलाई नै पत्र पठाएर गुनासो गर्ने सोच बनाएँ’, शुभाशिष भन्छन्, ‘नेपालमा नजन्मिए पनि म नेपाली नै हुँ । त्यसैले चुप बस्न मन लागेन ।’

पटकपटक च्यारिटी गरेर नेपालका विभिन्न स्कुलमा ई-लाइब्रेरी समेत बनाउन सहयोग गरेका छन् उनले । यसअघि पनि स्कुलका साथीहरुले गोर्खा आर्मीको ‘लोगो’ नचिनेको भन्दै ‘गोर्खा वेल्फेयर ट्रष्ट’ का चेयरम्यान लेफ्टिनेन्ट जेनेरल निक पोपलाई पत्र पठाएर अब स्कुलको पाठ्यक्रममा गोर्खाको योगदानसम्बन्धी बिषय पढाउने व्यवस्थाको लागि पहल गर्न आग्रह गरेका थिए ।

अफगानिस्तानमा युद्धको क्रममा दुवै खुट्टा गुमाएर अहिले सगरमाथा आरोहणको तयारीमा रहेका हरि बुढा मगरलाई आफू अध्ययनरत विद्यालयमा आमन्त्रण गरी गोर्खाको योगदानसम्बन्धी अन्तरक्रिया समेत आयोजना गरेका थिए शुभाशिषले । उक्त कार्यक्रमपछि विद्यालयले मगरको सगरमाथा अभियानमा सहयोग गर्न प्रतिबद्धता समेत जनाएका थियो ।

गत वर्ष अल्डवोर्थ स्कुलको ‘हेड ब्वाइ’ का लागि भएको निर्वाचनमा चार प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका शुभाशिषले भविष्यमा राजनीतिक पत्रकारितामा काम गर्ने लक्ष्य राखेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू