शुक्रबार, वैशाख ७, २०८१
03:21 | ०८:०६

फूर्सदमा उपन्यास लेख्दैछु: गोपी सापकोटा

नेपाली लिङ्क मे २१, २०२०

गोपी सापकोटा

विगत एक दशकदेखि बेलायत बस्दै आएका गोपी सापकोटा कवि तथा नाटककार हुन् । उनका एक अन्त्य एक शुरुवात (कवितासङ्ग्रह, २०५२), पूर्णविराम (नाटकसङ्ग्रह, २०५५), कमिलाको सपना (बालकथासङ्ग्रह २०५७), खरानी (नाटकसङ्ग्रह २०६०), गुलाफको एस्ट्रेमा मृत्यु (कवितासङ्ग्रह २०६३), कालो आकृति (नाटकसङ्ग्रह २०६४), अ सुसाइड नोट (अङ्ग्रेजी कवितासङ्ग्रह २०६७) र प्रेम कतिपय (नाटक, २०६९) कृति प्रकाशित भइसकेका छन् । लेखक सापकोटासंग नेपाली लिंकले गरेको संवादः

लकडाउन समयमा के गर्दै हुनुहुन्छ ?
पहिले अलिक कडा लकडाउन थियो, अहिले अलिक खुकुलो भएको छ । यो समयमा पुरै नभए पनि अरु बेला भन्दा अलि धेरै फूर्सद भएको छ । त्यसैले लेख्न र पढ्नका लागि समय दिन सकेको छु । घर परिवार त छंदैछ ।

तपाईंका पुस्तकहरु नआएको धेरै भयो नि । किन सुस्ताउनु भयो ?
बिदेशमा बस्दा अरु प्राथमिकताहरुले किच्ने रहेछ । त्यसकारण पुस्तक प्रकाशनमा अलिक ढिलो भयो । लेख्न चाहिं लेख्दैछु । छाप्नका लागि केही नाटक र संस्मरणका पुस्तकहरु तयार नै छन् ।

के लेख्दै हुनुहुन्छ ?
म अहिले उपन्यास लेख्दैछु । पहिलो ड्राफ्ट तयार भयो । सम्पादन गर्न भने बांकी छ । उपन्यासमा विशेष गरी आध्यात्मिक, भौतिक र गृहस्थ जीवन बीचको समन्वयलाई समेटेको छु । ती तीन थरि पात्रहरुको जीवन यात्रा छ । उनीहरुका जीवनका उतारचढाव लेख्दैछु ।

तपाईं नाटकतिर बढि व्यस्त हुनुहुन्थ्यो । अहिले उपन्यास नै किन ?
मुख्य रुपमा म पहिले पहिले नाटकहरु लेख्थें । तर अहिलेको सन्दर्भमा उपन्यासमार्फत धेरै पाठकहरुसंग पुग्न सजिलो हुने भएकाले उपन्यास रोजेको हुं । नाटकमा भन्दा उपन्यासमा धेरै खुल्न पाइन्छ । नाटकमा धेरै संवादहरुबाट मात्रै भन्न सकिन्छ, जब कि उपन्यासमा त्यही कुरा बुझाउन परिस्थितिहरुको ब्याख्या गर्न सकिन्छ ।

कहिले पढ्न पाइएला नयां कृति ?
लेखेर चाहिं सकें । अब सम्पादन गर्न बांकी छ । अहिले आफैं सम्पादन गर्दैछु । हेरुं कहिलेसम्म फाइनल गर्न सक्छु । त्यसपछि मात्रै छाप्ने कुरा आउंछ ।

अहिले के पढ्दै हुनुहुन्छ ?
मीच एल्बोमले लेखेको ‘ट्यूजडे वीथ मोरी’ पढेर सकें । पुस्तकमा मानिसको जीवन जति कठिन हुंदै गए पनि खुशी हुन चाहनेका लागि खुशी बन्न प्रशस्त अवसरहरु छन् भन्ने सोच रहेछ उक्त पुस्तकमा । अब पढ्ने सूचीमा ‘ह्वेर द क्रड्याड्स सिंग्स्’ छ । यो अमेजनमा धेरैले समीक्षा लेखिएको पुस्तक हो । जब मैले यो पुस्तकको चालिस हजार भन्दा धेरै ‘रिभ्यू’ लेखिएको देखें, मलाई यो पुस्तक पढ्न मन लाग्यो । त्यसैले किनेको हुं ।

बिदेशमा बसेर लेख्दा र नेपालमा बसेर लेख्दा के फरक हुंदो रहेछ ?
नेपालमा लेख्नका लागि अलिक धेरै समय मिल्थ्यो । बिदेशमा नेपालमा जस्तो समय मिल्दैन् । यहां लेख्नका लागि समय निकाल्न अलि गाह्रो छ । तर पनि म जहां बसे पनि मैले गर्ने भनेको काम भाषा र साहित्यको सेवा गर्ने नै हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू