शनिबार, वैशाख ८, २०८१
12:10 | १६:५५

नेपालमा १२ सुरक्षाकर्मीमा कोरोना

रासस मे २१, २०२०

फाइल तस्विर

काठमाडौं । कोभिड-१९ संक्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वय गर्न सुरक्षाकर्मी अग्रपंक्तिमा खटिएका छन् ।

संक्रमणको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय सुरक्षाकर्मीलाई कोभिड-१९ को संक्रमण देखिएको छ ।

प्राप्त विवरणअनुसार मुलुकमा ४ सय ५३ जनामा कोभिड-१९ संक्रमण देखिदा त्यसबाट १२ जना सुरक्षाकर्मी समेत प्रभावित हुन पुगेका छन् । उनीहरुको ‘आइसोलेसन’ मा राखेर उपचार जारी छ । नेपाल प्रहरीका छ, सशस्त्र प्रहरीका चार र नेपाली सेनाका दुई जनामा कोरोना भाइरस देखिएको हो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

आमसुमदायसँग नियमित रुपमा जोडिन पुग्ने सुरक्षाकर्मीमा रोग देखियो भने नागरिकमा सर्ने सम्भावना अधिक हुन्छ । त्यसतर्फ सचेत हुनुपर्ने आवश्कता सम्बद्ध सुरक्षा अधिकारीहरुले औँल्याएका छन् । स्वास्थ्य परीक्षण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जत्तिकै जोखिम सुरक्षाकर्मीलाई पनि छ । तर स्वास्थ्यकर्मीले झै व्यक्तिगत सुरक्षा सामग्री र आवश्यक सावधानी अपनाउन सकिरहेका छैनन् ।

मानिसको भिडभाड रोक्नुपर्ने भएकाले चाहेर पनि उनीहरुले सामजिक दूरी कायम गर्न सक्दैनन् । कपडाकै मास्कमा सुरक्षा दिएर बस्नु परिरहेको छ । हाल उपलब्ध स्रोतसाधनका बीच उच्च मनोबलका साथ सुरक्षाकर्मीले सरकारको आदेश पालनासँगै आफ्नो कर्तव्य पूरा गरिरहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाही संक्रमण फैलिन नदिन सतर्कता अपनाएर उच्च मनोबलका साथ प्रहरीले काम गरिरहेको बताउँछन् । संक्रमण फैलनबाट रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन् । घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार परिचालन गर्ने गरिएको छ ।

प्रवक्ता शाहीका अनुसार काठमाडौँको कालीमाटी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा बुधबार संक्रमण देखिएपछि वृत्तलाई नै सील गरेर स्वास्थ्य परीक्षण थालिएको छ । धनकुटा, बारामा एक-एक र कपिलवस्तुमा दुई प्रहरीमा संक्रमण देखिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल अग्रपंक्तिमा खटिने प्रहरीमा संक्रमण हुनसक्छ भन्ने पूर्वानुमान रहेकाले केहीमा लाग्नु स्वभाविक भएको र प्रहरी अझै सतर्कताका साथ हतोत्साही नभई कार्यस्थलमा खटिएको बताउँछन् ।

सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीका चार कर्मचारीमा समेत कोभिड–१९ को संक्रमण भएको छ । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ उच्च जोखिम मोलेर मुलुकको शान्ति सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा केही संक्रमण देखिए पनि मनोबल नघट्ने बताउँछन् । आवश्यक सुरक्षा मापदण्ड अनुसार नै सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए । नेपाली सेनामा दुई अधिकृतलाई समेत कोभिड–१९ देखिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार विदेशमा थप एक जनालाई संक्रमण भएको छ ।

मुलुकको शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना रोक्न होस् या अन्य घटना हुँदा आम नागरिकले पहिले सम्झने प्रहरीलाई हो । सामान्य भिडभाड, झै–झगडा, दुर्घटना चोरी, झडप, मुलुकका महत्वपूर्ण निर्णय कार्यान्वयनमा नेपाल प्रहरी अग्रपंक्तिमा हुन्छ । अर्को घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेना बसेको हुन्छ । अनुसन्धान विभागले आवश्यक सूचना संकलन गरेर सरकारलाई मुलुकमा आइपर्ने चुनौतिबारे सूचना दिइरहेको हुन्छ ।

हरेक विषयमा अग्रभागमा रहने सुरक्षाकर्मीसामु अहिलेको विषम परिस्थितिमा कोभिड–१९ को संक्रमण रोकथाममा पनि अहम भूमिका हुन्छ । सरकारले आदेश जारी गरेको बन्दाबन्दी कार्यान्वयनमा सडकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ । नेपाली सेना स्वाथ्योपचार लगायतका सरकारले तोकेका अन्य क्रियाकलापमा सहभागी भइरहेको छ । सीमा क्षेत्रमा हुने आवागमन रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय छन् । उनीहरुलाई सरकारले आवश्यक बीमाको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू