बिहीबार, वैशाख ६, २०८१
13:59 | १८:४४

बेलायती अध्ययनले नेपालमा नयां प्रजातिको बिरुवा फेला परयो

नेपाली लिङ्क मे २१, २०२०

तस्बिर: सरोजकुमार कसजु

लन्डन–नेपालका वनस्पतिहरुमा गहिरो अभिरूची राख्ने एक जना नागरिक वैज्ञानिकले नगरकोट क्षेत्रमा भेटाएको बिरुवा विश्वमै नयां प्रजातिको भएको पुष्टी भएको छ । काठमाडौँ ज्ञानेश्वरमा बस्ने सरोजकुमार कसजुले पहिलो पटक भेटाएको उक्त बिरुवा उनकै नाममा नामकरण गरिएको छ ।

भक्तपुरको नगरकोट क्षेत्रमा पाइने उक्त बिरुवाको नाम थुनबर्जिया कसजुआना (Thunbergiakasajuana Bh.Adhikari & J.R.I.Wood) राखिएको छ ।

‘संसारका विभिन्न देशहरुमा नागरिक वैज्ञानिकहरुले वनस्पति शास्त्रको अध्ययनमा निकै योगदान पुराएका हुन्छन् । तर नेपालमा नागरिक वैज्ञानिकले नयां प्रजातिको बिरुवा नै भेटाउने कुरा बिरलै हो । हामी कसजुप्रति आभारी छौं’-बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरा (आरबिजीइ) मा कार्यरत वनस्पतिशास्त्री डा. भास्कर अधिकारीले भने ।

अधिकारीका अनुसार कसजुले आफूले देखेका, चिनेका बिरुवाहरुको तस्बिर खिचेर विभिन्न संस्थाहरुमा पठाउने गर्दथे । त्यसै क्रममा उनले झन्डै चार वर्ष अघि एउटा नौलो बिरुवाको तस्विर खिचेर अधिकारीलाई पठाए । अधिकारीले आफ्ना सहकर्मी जोन उडसंग मिलेर त्यसको अध्ययन शुरु गरे ।

एसियामा भारत र भुटानमा पनि सो जातिका बिरुवाहरु पाइन्छन् । तर, नगरकोटमा फेला परेको जस्तो प्रजाति चाँहि यसअघि पहिचान गरिएको थिएन र त्यो बेनामे नै थियो। अधिकारीका अनुसार यो नयां प्रजाति यसको खण्ड खण्ड नपरेको रिंग आकारको पत्रदल र गुलाबी छिर्का भएको सेतो-पहेंलो फूल हेरी अरु नजिकका प्रजातिहरुबाट छुट्याउन सकिन्छ ।

उक्त बिरुवाबारे थप अध्ययन गरेर अधिकारी र उडले बेलायतबाट प्रकाशित हुने ‘क्यु बुलेटिन’ नामक एक जर्नलमा लेख छपाए पछि सो बिरुवाले औपचारिक पहिचान पाएको हो ।

हालै अधिकारी र आरबिजीइमै कार्यरत अर्का वनस्पतिशास्त्री माइकल मलरले पूर्वी नेपालमा पाइने कुम्कुम बिरुवाको नयां प्रजाति पत्तालगाएका थिए। उक्त बिरुवाको नाम डिडिमोकार्पस नेपालेंसिस (D. nepalensis Bh.Adhikari & Mich.Möller) राखिएको छ ।

रोयल बोटानिक गार्डेन एडिनबराले नेपालको वनस्पति विभाग, नास्ट तथा त्रिभुवन विश्वविद्यालयसंग मिलेर नेपालमा पाइने वनस्पतिहरुबारे अध्ययन गरिरहेको छ।


नेपालमा झन्डै ७,००० प्रजातिका फूल फुल्ने बिरुवाहरु पाइने अनुमान छ, र कतिपय नेपालमा मात्र पाइने बनस्पतिहरुको पहिचान हुन् अझै बाँकी नै छ । ‘त्यसैले यस्ता नयां प्रजातिहरुको अध्यन अनुसन्धानमा कसजुजस्ता नागरिक वैज्ञानिकहरुको देन निकै महत्वपूर्ण छ’-अधिकारीले भने ।

आफ्नो नामबाट एउटा बिरुवाको नयां प्रजातिको नामाकरण भएबाट आफू निकै उत्साहित भएको कसजुले बताए । अहिलेसम्म झन्डै ३,००० थरिका बिरुवाको तस्विर खिचिसकेका कसजुले भने, “म बांच्दासम्म र शरीरले सक्दासम्म नयां-नयां बिरुवाको फोटो खिंच्ने काम जारी नै राख्ने छु ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू