शुक्रबार, वैशाख १४, २०८१
11:56 | १६:४१

इंग्ल्याण्डमा जुन १ बाटै स्कुल खोल्नु जोखिमपूर्ण !

नेपाली लिङ्क मे २०, २०२०

लण्डन । बेलायत सरकारले कोरोना रोकथामका लागि लागू गरिएको लकडाउन क्रमश खुकुलो पार्दै जाने योजना घोषणा गरिसकेको छ । सोहि योजनाको दोस्रो चरणमा आउँदो जुन महिनाको शुरुदेखि इंग्ल्याण्डका प्राइमरी स्कुल खुला गर्ने भनिएको छ ।

सरकारका मन्त्रीहरुले अहिलेसम्म पनि जुन १ बाट स्कुल सञ्चालनमा ल्याउने पूर्ववत योजना कायम रहेको बताउँदै आएका छन् । सुरक्षाको दृष्टिले आवश्यक सबै सतकर्तासहितको प्रबन्ध मिलाइने सरकारको आश्वासन छ ।

तर, सरोकारवालाहरु जुन १ बाटै स्कुलहरु खोल्ने सरकारको नीतिमा ‘कन्भिन्स’ हुन सकेका छैनन् । बीबीसीका अनुसार बुधबारसम्म्म इंग्ल्याण्डका कमसकेम १३ वटा काउन्सिलले स्कुल पुन: सञ्चालनमा ल्याउन सुरक्षित वातावरण बनिनसकेको भन्दै सरकारको ध्यानकार्षण गराएका छन् ।

शिक्षकहरुको युनियनले समेत अहिले नै स्कुल खोल्ने निर्णय अव्यवहारिक र अनुपयुक्त भन्दै सरकारलाई आफ्नो योजनामा पुनर्विचार गर्न आग्रह गरेको छ ।

गत मे १० तारिखमा लकडाउन खुकुलो पार्ने योजना घोषणा गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले जोखिम फेरि नबढे जुन १ देखि प्राइमरी स्कुल सञ्चालन गर्ने योजना सुनाएका थिए ।

संक्रमण दरको सूचक ‘आर नम्बर’ घट्दै गएको आधारमा सरकारले स्कुल खोल्ने सम्मको मनोबल जुटाएको ठानिएको छ । तर क्याम्ब्रिज विश्वविश्वद्यालयसहित देशका विभिन्न ठाउँमा भएका अध्ययनले संक्रमणको दर देशभरमा समान नरहेको देखाएका छन् ।

स्कुलहरु खोल्नका लागि आवश्यक अवस्था सिर्जना भइनसकेको गुनासोहरुबीच सरकारका मन्त्रीहरुले भने आफ्नो योजनाको बचाउ गरिरहेका छन् ।

न्यायमन्त्री रोबर्ट बकल्याण्डले बुधबार बिहान सरोकारवालाहरुबाट व्यक्त चासो र चिन्तालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए । कुनै समस्याहरु भए सम्बोधन गरेरै भएपनि सरकारले तय गरेको मितिमा स्कुल खुलाउनेतर्फ पहल गर्न उनले आग्रह समेत गरे ।

कोरोना महामारीका कारण गत मार्च २० देखि बेलायतका सबै स्कुलहरु बन्द छन् । सरकारले इंग्ल्याण्डमा शुरुमा जुन १ देखि प्राइमरी स्कुल खोल्ने योजना बनाएको छ । वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा भने जुनदेखि नै स्कुल सञ्चालन गर्ने कुनै योजना छैन ।

बाबुआमा स्वास्थ्यसेवा सहितका अत्यावश्यक क्षेत्रमा कार्यरत रहने बालबालिकाको लागि भने अहिले पनि विशेष स्कुल सञ्चालन भइरहेकै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू