शनिबार, वैशाख ८, २०८१
08:08 | १२:५३

बेलायतमा घरेलु हिंसा वृद्धि, नेपालीका बेग्लै पीडा

नेपाली लिङ्क मे १९, २०२०

प्रतिकात्मक तस्बिर

लन्डन । कोभिड १९ महामारी नियन्त्रणका लागि जारी लकडाउनपछि ब्रिटेनमा घरेलु हिंसाका घट्नामा वृद्धि भएको छ ।

घरेलु हिंसा बढेपछि यसविरुद्ध विभिन्न अभियान शुरु भएका छन् । ब्रिटेनको एउटा प्रमुख फार्मेसी कम्पनी बुट्सले घरेलु हिंसाबाट पीडित मानिसहरुलाई आफ्नो पसलको परामर्श कक्ष प्रयोग गर्न दिएको छ ।

बुट्स फार्मेसीले बेलायतभर उसका २४ सय भन्दा बढि ‘आउटलेट’ प्रयोग गर्न दिएको हो ।

घरेलु हिंसाबाट पीडित मानिसहरुले अहिले बुट्समा गएर त्यहां रहेको परामर्श कक्ष निशुल्क प्रयोग गर्नसक्ने छन् । त्यहांबाट उनीहरुले सम्बन्धित निकायमा मद्दत तथा परामर्शका लागि सम्पर्क गर्न सक्नेछन् ।

एउटा कल्याणकारी संस्था ‘हेस्टिया’ का भनाइमा लकडाउनका कारण मानिसहरुले निकै गम्भीर स्थिति बेहोर्नु परिरहेकाले यस्तो योजना ल्याउनु परेको हो ।

यो योजना खास गरी घरेलु हिंसा बेहोरिरहेका महिलाहरुका लागि लाभदायी हुन सक्ने ठानिएको छ ।

घरेलु हिंसाविरुद्ध कार्यरत विभिन्न संस्थाले अहिले धेरै गुनासा पाएका छन् । घरमा भएका हिंसात्मक खबर सुनाउन ४९ प्रतिशतसम्म कल बढेको तथ्यांक नेशनल डोमेस्टिक अब्यूज हेल्पलाइनसंग छ ।

‘हेस्टिया’ नामक च्यारिटीले ४७ प्रतिशत हिंसा बढेका जनाउंदै आफ्नो ‘ब्राइट स्काइ’ एपमार्फत सयौं पीडितहरु सम्पर्कमा आएका जनाएको छ ।

मेट्रोपोलिटन प्रहरीले घर झगडा र हिंसामा संलग्न भएको आरोपमा सयौंलाई गिर्फतार गरेको बीबीसीले जनाएको छ ।

बेलायत सरकारले घरेलु हिंसाबारे सचेतना अभियान शुरु गर्दै पीडितहरुलाई कुनै पनि बेला सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेको छ । ‘हयासट्याग यू आर नट एलोन’ अन्तर्गत सरकारी अभियानले महामारीको कठिन समयमा पनि पीडितलाई सहयोग गर्नेछ । नेशनल डोमेस्टिक अब्यूज हेल्पलाइन २४ सै घण्टा खुल्ला छ भने फोन गर्न शुल्क लाग्दैन् ।

गृहमन्त्री प्रीति पटेलले मन्त्रालय (होम अफिस) च्यारिटी संस्थाहरु र डोमेस्टिक अब्यूज कमिश्नरसंग निकट रहेर काम गरिरहेको जनाउंदै अभियान सहायताका लागि तत्काल २० लाख पाउण्ड उपलब्ध गराइएको घोषणा गरेकी छन् ।

यसअघि अर्थमन्त्री ऋषि सुनाकले च्यारिटी क्षेत्रलाई ७ सय ५० मिलियन पाउण्ड निकासा गरिएको जनाएका थिए । यसबाट घरेलु हिंसामा कार्यरत च्यारिटी संस्था र समाजमा बढि जोखिममा रहेका मानिसलाई सघाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेशनल डोमेस्टिक अब्यूज च्यारिटी रिफ्युजकी प्रमुख कार्यकारी सान्ड्रा होर्ले सरकारको सहयोगप्रति कृतज्ञ छिन् । ‘हामी घरेलु हिंसा पीडितहरुलाई सहयोग गर्न दिनरात काम गरिरहेका छौं’, होर्लेले भनिन्, ‘सधैंभन्दा अहिले के चाहिएको छ भने घरेलु दुब्र्यवहार भोगिरहेका हरेक महिलालाई गोप्य सहयोग उपलब्ध 
होस् ।’

ब्रिटेनमा २ हजार वयस्कहरुमा हालै गरिएको एक सर्वेक्षणमा मानिसहरु सरकारले घरेलु हिंसाबाट पीडित सबैको सुरक्षा र उनीहरुलाई सेवा पुरयाइरहेका संस्थाहरुलाई थप आर्थिक सहयोग उपलब्ध गराउनु पर्ने राय व्यक्त गरेका छन् ।

एमनेस्टी इन्टरन्यासनलले गराएको उक्त सर्वेक्षणले सुरक्षित आप्रवासन हैसियत नभएकाहरुलाई पनि थप सुरक्षा प्रदान गरिनुपर्ने पक्षमा जनमत रहेको देखाएको छ ।

सर्वेक्षणमा सहभागीमध्ये ७२ प्रतिशतले सरकारले घरेलु हिंसाबाट पीडित सबैको सुरक्षा गरोस् भन्ने राय व्यक्त गरेका थिए । त्यस्तै ६५ प्रतिशतले कोरोना संकटका बेला सरकारले घरेलु हिंसाबाट पीडितहरुलाई सेवा पुरयाइरहेका संस्थाहरुलाई थप आर्थिक सहयोग उपलब्ध गराउनु पर्ने राय व्यक्त गरेका छन् ।

गत वर्ष मार्च अन्तिमसम्म इंग्ल्याण्ड र वेल्समा करिब १६ लाख महिला र ७ लाख ८६ हजार पुरुषले घरेलु दुब्र्यवहार बेहोरेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकमा छ ।

बेलायतको नेपाली समुदायमा पनि घरेलु हिंसा भएका पाइएको छ । नेपालीहरु उल्लेख्य बसोवास रहेको अल्डरसटस्थित सिटिजन एडभाइस ब्युरोमा कार्यरत एलिजा गुरुङले बेलायतमा गत २३ मार्चमा लकडाउन शुरु भएयता १२ वटा केस आएको बताइन् ।

‘यो संख्या अरु बेला भन्दा बढि हो । पीडितहरुले शारिरीक, मानसिक, आर्थिक, यौन र जातिय भेदभावका समस्याबाट पीडित भएको बताएका छन्’, विगत ५ वर्षदेखि ब्युरोमा कार्यरत गुरुङले भनिन् ।

नेपालीहरु आफ्ना समस्या भन्न त्यति नचाहने गुरुङको अनुभव छ । उनले बेलायतभर नेपाली समुदायका घरेलु हिंसा सम्बन्धि मुद्दा हेर्ने गर्छिन् ।

लकडाउन शुरु हुनु अघि ब्युरोले नेपाली ग्रोसरी, फार्मेसी, सुनचांदी आदि पसलमा घरेलु हिंसासम्बन्धि सचेतनामुलक सामाग्री वितरण गरेको थियो । समुदायका नेताहरुलाई भेटेर पनि यसबारे अवगत गराइएको थियो । अल्डरसट र फार्नबोरो क्षेत्र हेर्ने ब्युरोले यसको न्यूनीकरणका लागि बेला बेला कम्युनिटी इभेन्ट्स गर्ने गरेको पनि गुरुङले जनाइन् ।

लन्डनस्थित नेपाली दूतावासमा भने घरेलु हिंसा सम्बन्धमा प्रहरीले अहिलेसम्म खबर नगरेको उपनियोग प्रमुख शरदराज आरन बताउंछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू