शुक्रबार, चैत १६, २०८०
21:01 | ०२:४६

प्रवासी नेपाली एकता मञ्च यूकेले अतिक्रमणविरुद्ध मोदीलाई ज्ञापनपत्र बुझाउने

नेपाली लिङ्क मे १८, २०२०

लण्डन । नेकपानिकट बेलायतस्थित प्रवासी नेपाली एकता मञ्च यूकेले भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणको भर्त्सना गरेको छ ।

अतिक्रमणको विरोधमा मञ्चले बेलायतस्थित एनआरएनएसहितका संघसंस्थासंग मिलेर लण्डनस्थित भारतीय हाई कमिसनमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र बुझाउने समेत निर्णय गरेको सचिव सुरेश गौतमले जानकारी दिए ।

आइतबार मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा बसेको अनलाइन बैठकले भारतीय अतिक्रमणबाट नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि विस्तारवादको नाङ्गो चरित्र प्रदर्शन भएको ठहर गरेको छ ।

सुगौली सन्धीदेखिका ऐतिहासिक तथ्य, दस्ताबेज र प्रमाणले नेपाली भूमि हो भन्ने प्रमाणित हुंदा हुंदै पनि पटक पटक नेपालको अस्मिता अतिक्रमण गर्ने यस्ता भारतीय रवैयाको मञ्चले निन्दा गरेको छ ।

बैठकले नेपालमा कोरोना प्रभावितको सहयोगका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा बेलायतबाट एकमुष्ट रुपमा सहयोग पठाउने निर्णय गरेको छ ।

त्यसैगरी, बेलायतमा प्रभावित नेपालीहरुको सहयोगका लागि गठित आफ्ना स्वयमसेवक कमिटीलाई सक्रिय पार्ने निर्णय गरिएको छ । बेलायतमा नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्रमा स्वयमसेवक् परिचालन गरी राहत बाँड्ने मञ्चको योजना छ ।

मञ्चले कोरोना संक्रमणका कारण ज्यान गुमाउने सबै नेपालीसहित मृतकप्रति श्रद्धाञ्जली अर्पण पनि गरेको छ ।

मञ्चले लकडाउनका कारण नेपाल फर्किन नपाएर बेलायतमै रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउने पहलका लागि दूतावास, नेपाल सरकारसहितका सरोकारवालासंग समन्वय र परामर्श गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू