शुक्रबार, वैशाख १४, २०८१
15:23 | २०:०८

बेलायतमा दैनिक मृत्यु संख्या मार्च २४ यताकै सबैभन्दा थोरै

पछिल्लो २४ घण्टामा १ सय ७० जनाको मृत्यु

नेपाली लिङ्क मे १७, २०२०

लण्डन । बेलायतमा कोरोना महामारी नियन्त्रणको प्रयासमा करिब २ महिनादेखि जारी लकडाउन शुरु भएको दोस्रो दिन यताकै सबैभन्दा न्यून दैनिक मृत्यु आइतबार रेकर्ड भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट बेलायतभरमा कुल १ सय ७० जनाको मृत्यु भएको छ ।

मृतकको यो संख्या गत मार्च २४ यताको सबैभन्दा न्यून हो । मार्च २३ देखि बेलायतमा ‘लकडाउन’ छ ।

‘विकेण्ड’ मा मृत्युको रिपोर्टिङ सुस्त हुने कारण पनि आइतबार र सोमबार सार्वजनिक हुने मृत्यु संख्या अन्य दिनभन्दा केहि थोरै देखिंदै आएका छन् ।

तर आइतबारको मृत्यु संख्या ठीक एक साता अघिको आइतबारकै तुलनामा पनि करिब १ सयले थोरै हो । साताका अन्य दिनमा मृत्युको संख्या फेरि बढ्ने आँकलन छ ।

यससंगै हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको जम्मा संख्या ३४ हजार ६ सय ३६ पुगेको छ ।

त्यसैगरी, अहिलेसम्म संक्रमित हुनेहरुको संख्या २ लाख ४३ हजार ३ सय ३ छ । पछिल्लो २४ घण्टामा संक्रमणका ३ हजार १ सय ४२ केस थपिएका हुन् ।

साथै, अहिले बेलायतका विभिन्न अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीको संख्या पनि एक साता अघिको तुलनामा १५ प्रतिशतले घटेको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू