शनिबार, वैशाख ८, २०८१
04:56 | ०९:४१

कोरोना प्रभावित नेपालीको सहयोगमा दूतावासहरुको भूमिका न्यून !

नेपाली लिङ्क मे १७, २०२०

लण्डनस्थित नेपाली दूतावास

लण्डन । यतिबेला कोरोना भाइरस (कोभिड १९) महामारीको चपेटामा छ युरोप । कोरोनाबाट अति प्रभावित बेलायत, इटाली, स्पेन, फ्रान्ससहितका सबै युरोपेली देशमा रहेका दशौं हजार नेपाली पनि महामारीका कारण सिर्जना भएका विभिन्न समस्यामा छन् ।

तर अफ्ठेरोमा परेका नेपालीको सहयोगको हकमा विदेशस्थित नेपालीहरुको अभिभावक ठानिने नेपाल सरकारका प्रतिनिधि दूतावासहरु भने न्यून भूमिकामा देखिएका छन् ।

युरोपका कुनै पनि देशमा कोरोनाबाट प्रभावित नेपालीको पूरा तथ्यांकसम्म त्यहाँका दूतावासहरुसंग छैन । स्थानीय नेपाली संघसंस्थाले बटुलेकै विवरणका आधारमा दूतावासले तयार पारेका तथ्यांक यथार्थनजिक छैनन् ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरन तथ्यांक संकलनमा कठिनाई रहेको बताउँछन् । यहाँको सरकारबाट प्रत्यक्ष तथ्यांक लिने कुनै माध्यम नरहेका कारण नेपाली समुदाय र संघसंस्थाले जम्मा गरेका तथा दूतावासलाई सिधै सम्पर्क गरी आएका केसहरुलाई भेरिफाइ गरेरै विवरण तयार पार्दै आएको उनले सुनाए ।

बेलायतमा मात्र होइन, युरोपका कुनै पनि देशस्थित दूतावासहरुसंग आफै तथ्यांक लिने वा राख्ने संयन्त्र छैन । धेरै देशमा एनआरएनएसहितका नेपाली संघसंस्थाले गरेको रिपोर्टकै भरमा छन् उनीहरु ।

दूतावासको सम्पर्कमा आएका सहयोग खोज्ने नेपालीहरुलाई पनि दूतावासबाट उपलब्ध हुने कुनै प्रत्यक्ष सहयोग देखिंदैन । लकडाउनका कारण रोकिएका धेरै नेपालीहरु नेपाल फर्किने प्रबन्ध हुन्थ्यो कि भन्ने आशामा दूतावासको सम्पर्कमा आउने गरेको पाइएको छ । तर अहिले नेपालमा सबै उडान बन्द रहेकाले अर्को अवस्था नबन्दासम्म कुनै उपाय नलाग्ने जवाफ दूतावासहरुले दिने गरेका छन् ।

युरोपमा रहेका नेपालीमध्ये अहिले बढी समस्यामा पर्ने भर्खरै नेपालबाट आएर सेटल भइनसकेका विद्यार्थी र सम्बन्धित देशमा गैरकानूनी रुपमा बसिरहेका वा भिसाविहिनहरु देखिन्छन् । बेलायतमा अंग्रेजी नबुझ्ने वृद्धावस्थाका पूर्व गोर्खाहरु पनि छन् ।

कतिपय अवस्थामा खाना र बस्नकै समस्या समेत भोगिरहेका नेपालीहरुलाई स्थानीय नेपाली संघसंस्थाले राहतस्वरुप खाद्यान्न वितरण गरिरहेका छन् । कैयौं ठाउँमा मास्क, स्यानिटाईजर र सिटामोलका पोको बोकेर घरघरमै पुगेर बाँड्ने कार्य पनि भएका छन् । स्थानीय डाक्टर, नर्स लगायतको समन्वयमा आवश्यक पर्नेलाई स्वास्थ्यसम्बन्धी परामर्श पनि दिइएको छ । बढी नै समस्यमा रहने केहीलाई आर्थिक सहयोग समेत उपलब्ध गराइएको छ ।

यस्तै खालका सहयोग र राहत वितरणमा पनि दूतावासहरुको खासै भूमिका छैन । संघसंस्थाको सम्पर्कमा रहने र हामी पनि छौं है भन्दै आश्वासन दिनुमै उनीहरुको मुख्य भूमिका देखिएको छ । राहतकै खोजी गर्नेहरुलाई पनि एनआरएनए र अन्य संघसंस्थाको बाटो देखाइदिने काम उनीहरु गरिरहेका छन् ।

पोर्चुगल समेत हेर्ने फ्रान्सस्थित नेपाली राजदूत दिपक अधिकारी नेपालीहरुले सम्बन्धित देशस्थित नेपाली दूतावासहरुमा रजिस्टर गर्ने व्यवस्था नरहेका कारण सबैको विवरण लिन अफ्ठेरो भएको बताउँछन् ।

नेपालीहरुलाई पनि स्थानीय नागरिकसरहकै स्वास्थ्य सेवा दिलाउन र भिसाको समस्या हुनेहरुको लागि उचित प्रबन्ध गर्न दूतावासले सम्बन्धित देशका सरकारहरुसंग कुरा उठाएको राजदूत अधिकारीको भनाइ छ । अहिले आवश्यकतामा हुनेहरुलाई राहत उपलब्ध गराइरहेका एनआरएनएसहितका संघसंस्था र समुदायसंग पनि दूतावासले निरन्तर समन्वय गरिरहेको उनले बताए ।

युरोपेली महासंघका लागि नेपाली राजदूत लोकबहादुर थापा आफ्नो कार्यक्षेत्र पर्ने बेल्जियम र नेदरल्याण्ड लगायतका देशमा नेपालीहरुलाई ठूलो समस्या भइनसकेको बताउँछन् ।

‘नेदरल्याण्डमा अध्ययनका लागि आएका केहि विद्यार्थीहरु अफ्ठेरोमा रहेछन् । उनीहरुलाई एनआरएनएका तर्फबाट खाद्यान्न लगायतको राहत वितरण भएको छ । आवश्यक हुनेलाई केहि आर्थिक सहायता समेत उपलब्ध गराउने तयारी भइरहेको हामीले जानकारी पाएका छौं’, राजदूत थापाले भने । महामारी सकिएर जनजीवन सामान्य बन्न थालेपछि नेपालीहरुलाई आवश्यक पर्ने विभिन्न प्रशासनिक सहयोगका लागि दूतावासको भूमिका बढ्ने उनको भनाइ छ ।

दूतावासहरुसंग यहाँस्थित सबै नेपालीको विवरण मात्र होइन, अफ्ठेरोमा पर्नेहरुसम्म पुग्ने प्रभावकारी सम्पर्क माध्यम समेत खड्किएको छ ।

महामारीका बेला नेपालीका समस्यालाई दूतावासहरुले वेवास्ता नै गरेको गुनासो सुनिएको छैन । उनीहरुले सहयोगका लागि भन्दै विभिन्न समिति बनाउने, एकअर्काको सहयोगका लागि अपील गर्ने, सूचनाहरु जारी गर्ने, सहयोगमा जुटेका संघसंस्थाको सम्पर्कमा रहने जस्ता औपचारिकता निभाइरहेकै छन् ।

तर आफूसंग उपलब्ध तथ्यांक र स्रोत, साधनको सिमितताका कारण पनि अहिलेको चरणमा यहाँका नेपालीलाई आवश्यक सहयोगका लागि भने उनीहरु आफैले बढी भूमिका खेल्न सकेको पाइएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू