शुक्रबार, चैत १६, २०८०
05:50 | ११:३५

बेलायतमा नम्बरप्लेट, गाडी भन्दा महंगा !

एउटा प्लेटको दश लाख पाउण्डसम्म

नेपाली लिङ्क मे १६, २०२०

लण्डन । बेलायतमा प्रचलनमा रहेका गाडीका नम्बरप्लेटबारे कैयौं तथ्य धेरैलाई थाहा नहुन सक्छ । यीनै नम्बर प्लेटहरुसम्बन्धी केहि रोचक जानकारी यहाँ प्रस्तुत छ ।

अक्षर र संख्या गरेर सात डिजिट भएको नम्बर प्लेटमा प्रयोग हुने अक्षर र संख्याले छुट्टाछुट्टै अर्थ राख्दछन् । नम्बरप्लेटमा दुई भाग हुने गर्दछ, शुरुमा दुई अक्षरसंगै दुई अंक र अन्तिममा तीनवटा अक्षर ।

शुरुको दुई वटा अक्षरले रजिष्ट्रेशन गरिएको क्षेत्रलाई जनाउँछ, जसका आधारमा गाडी कुन ठाउँमा दर्ता भएको भन्ने बुझ्न सकिन्छ । जस्तो बर्मिङहममा दर्ता भएका नम्बरप्लेटमा ‘बिए’ वा ‘बिवाई’, अक्सफोर्डमा दर्ता भएको नम्बर प्लेटमा ‘ओए’ वा ‘ओवाई’, रेडिङमा दर्ता भएकोमा ‘आरए’ वा ‘आरवाई’ जस्ता अक्षर शुरुमा राखिन्छ ।

त्यस्तै, बीचमा भएको दुई अंकले कुन वर्ष दर्ता गरिएको हो भनेर उमेर छुट्टयाउन मद्दत पुर्याउँछ भने अन्तिमको तीन अक्षरले खासै कुनै अर्थ राख्दैनन् ।

बेलायतमा अहिले प्रचलित नम्बर प्लेट सिस्टम सन् २००१ देखि लागू गरिएको हो । जुन ५१ को संख्याबाट शुरु गरिएको थियो ।

यहाँ वर्षमा दुई पटक छुट्टाछुट्टै किसिमको रजिष्ट्रेशन नम्बर परिवर्तन गरिन्छ । हरेक ६ महिना अर्थात मार्च महिना र सेप्टेम्बर महिनामा नयाँ रजिष्ट्रेशन गरिने व्यवस्था छ । मार्चमा वितरण गरिने नम्बर प्लेटमा सोहि वर्षको अन्तिम दुई डिजिट प्रयोग गरिन्छ ।

तर सेप्टेम्बर महिनामा प्रयोग गरिने नम्बर प्लेटको प्रक्रिया अलि फरक छ । सेप्टेम्बरमा दर्ता हुने नम्बर प्लेटमा ‘प्लस फिफ्टी’ (+५०) को नियम लागू हुन्छ । जसमा अहिलेको जुन वर्ष हो, त्यसमा ५० जोडेर हुने संख्या नै नम्बर प्लेटमा राखिन्छ ।

सन् २०२० को नम्बर प्लेट प्रयोग गर्दा मार्चमा २० राखिन्छ भने सेप्टेम्बरमा ७० (+५०) राखिन्छ । यसरी बेलायतमा प्रयोग गरिने नम्बरप्लेटबाट कुन ठाउँमा दर्ता गरिएको हो र कति सालमा दर्ता भएको हो भनेर पत्ता लगाउन सजिलो हुन्छ । तर प्राइभेट नम्बर प्लेटमा भने यो नियम लागू हुदैन ।

प्राइभेट नम्बरप्लेट र यसको रजिष्ट्रेशन

यदि कसैले आफूले इच्छाएको वा आफ्नो नाम वा कम्पनीसँग मिल्दोजुल्दो नामको नम्बरप्लेट राख्न चाहन्छ भने तोकिएको प्रक्रिया पूरा गरी ड्राइभर एण्ड भेइकल लाइसेन्सिङ एजेन्सी (डिभीएलए) मार्फत दर्ता गर्न सक्ने प्रावधान छ ।

यसरी दर्ता गर्नको लागि डिभीएलए लगायत ‘प्लेट फोर लेस’ जस्ता अन्य विभिन्न एजेन्सीहरुमार्फत प्राइभेट नम्बरप्लेट दर्ता गर्न सकिन्छ । जहाँ आफूले चाहेको वा आफ्नो नामसँग मिल्दोजुल्दो नम्बरप्लेट खोजेर दर्ता प्रक्रिया पूरा गरेर प्राइभेट नम्बरप्लेट प्रयोग गर्न सकिन्छ । प्रयोग गरिएका अंक र अक्षरका आधारमा मूल्यको निर्धारण गरिन्छ ।

हालसम्म प्रयोग भएको सबैभन्दा महँगो प्राइभेट नम्बरप्लेट ट्वेन्टी फाएभ ओ (25 O) हो जसलाई सन् २०१४ मा डिभीएलएले ५ लाख १८ हजार पाउण्ड अर्थात झण्डै ८ करोड रुपैयाँमा बिक्री गरेको थियो । त्यसैगरी, पछिल्लो समयमा ‘एसडब्लु वान’ (SW 1) लेखिएको नम्बरप्लेट पनि तीन लाख पाउण्डमा बिक्री भएको थियो ।

यसरी नै अर्को एउटा अनौठो ‘एफवान’ (F1) नम्बरप्लेट छ, जसको मूल्य दश लाख पाउण्ड भन्दा पनि बढी हुनसक्ने बताइएको छ । सो नम्बरप्लेट एकजना गाडी व्यवसायका मालिक अफ्जान खान भन्ने व्यक्तिको स्वामित्वमा छ ।

एक लाख भन्दा माथिका यस्ता थुप्रै प्राइभेट नम्बरप्लेट विक्री भएको ड्राइभर एण्ड भेइकल लाइसेन्सिङ एजेन्सी (डिभीएलए) मा तथ्यांक छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू