शुक्रबार, वैशाख ७, २०८१
03:13 | ०७:५८

महामारीका बेला नेपालमा सहयोग बाँड्न व्यस्त बेलायतका ‘माइला-कान्छा’

नेपाली लिङ्क मे १६, २०२०

लण्डन । बिदामा नेपाल गएका बेला लकडाउनका कारण रोकिएका बेलायतका ‘माइला-कान्छा’ पार्वती गुरुङ र माया गुरुङ अहिले महामारीबाट प्रभावितहरुलाई सहयोग बाँड्न जुटिरहेका छन् ।

शनिबार पोखराका विभिन्न ठाउँमा पुगेर झण्डै ७५ हजार रुपियाको सहयोग बाँडेका उनीहरुले शुक्रबार ७० हजार रुपियाको राहत बाँडेका थिए ।

पोखराको सडकमा गीत गाएर जीविकोपार्जन गर्दै आएकी दृष्टिविहिन लक्ष्मी परियारलाई शनिबार ‘माइला-कान्छा’ ले ५० हजार रुपियाको आर्थिक सहयोग प्रदान गरे । तीन महिनाकी गर्भवती समेत रहेकी परियारको परिवारलाई लकडाउनका कारण गुजारा चलाउनै अफ्ठेरो भएको थाहा पाएपछि सहयोग दिएको उनीहरुले बताए ।

‘माइला-कान्छा’ अभियानका पार्वती र मायाले शनिबार नै उनीहरुले पिएन क्याम्पसअगाडि बगरमा बस्दै आएका अर्का दुई दृष्टिविहिन चिजा कार्की र शान्ता परियारलाई १५ हजार रुपियाको आर्थिक सहयोग बाँडे । त्यस्तै, पोखराको पुम्दीकी विपन्न सिता पौडेललाई १० हजार रुपियाको सहयोग गरे ।

यसअघि शुक्रबार मात्रै उनीहरुले पोखराको पृथ्वीचोकमा ज्यामी काम गरी बस्ने मजदुरलाई राहत वितरण गरेका थिए । ७० हजार रुपिया खर्च गरेर ४५ जना मजदुरलाई चामल, दाल, तेल लगायतको खाद्यान्न बाँडिएको थियो ।

‘माइला कान्छा’ को सहयोग अभियानमा बेलायतस्थित केहि सहयोगदाताहरुले समेत सहयोग गरेका छन् । बेलायतमा बस्दै आएका टिका गुरुङ, कल्याण गुरुङ, साउथ ईष्ट आमा समूहकी अध्यक्ष कमला गुरुङ लगायतले सहयोगका लागि आवश्यक रकम पठाइदिएका थिए ।

बेलायतबाट तीन हप्ताको छुट्टीमा नेपाल गएको तर बन्दाबन्दीका कारण फर्कन नपाएपछि नेपाल बसाइँमा समाजसेवामा लागेको ‘माइला कान्छा’ अभियानका पार्वती र मायाले बताए ।

‘महामारीको यो समयमा हामीले गरिब असहाय, अपांगता भएकाहरुको आँशु पुछ्ने अभियानमा जुटेका छौँ । सम्भव भएसम्म उहाँहरुको घरमा नै पुग्छौँ, वास्तविकता सामाजिक सञ्जालबाट देखाइदिन्छौँ, अनि जसले जसलाई सहयोग गर्न चाहनुभएको छ उहाँहरुसमक्ष नै पुगेर दिने गरेका छौँ । सबै पारदर्शीरुपमा फेसबुक लाइभबाट कसले कति रकम दिएको हो सबै भन्छौं’, उनीहरुले भने ।

‘बेलायत बसेपनि हाम्रो मन नेपाली हो, कोरोनाको त्रास भए पनि सुरक्षा अपनाएर सेवामा जुटेका छौँ, यस अभियानलाई सहयोग गर्ने सम्पूर्णप्रति हामी आभारी छौँ,’ माइला-कान्छा भन्छन्, ‘अहिले धेरैजनाबाट सहयोगको आवश्यता रहेको भन्दै फोन आउँछ तर हामी प्रत्यक्ष त्यहाँ पुग्छौँ, हेर्छौं र आवश्यता देखिएमात्र सहयोगको अपिल गर्छौं ।’

हालसम्म विभिन्न कठिनाइको सामना गरिरहेकाहरुलाई करिब १० लाख रुपियाको सहयोग गरिसकेको उनीहरु बताउँछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू