शुक्रबार, वैशाख ७, २०८१
19:47 | ००:३२

बेलायतमा मृत्यु हुने ६३ नेपालीमा कोरोना संक्रमण पुष्टी

मृतकमध्ये ५२ पुरुष र ११ महिला

नेपाली लिङ्क मे १५, २०२०

लण्डन । बेलायतमा मृत्यु भएका ६३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । लण्डनस्थित नेपाली दूतावासले शुक्रबारसम्म ६३ जना नेपालीको कोरोनाबाट मृत्यु भएको पुष्टी गरेको हो ।

दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार मृतकहरुमध्ये ५२ जना पुरुष र ११ जना महिला छन् ।

त्यस्तै, मृतकमध्ये भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य ५२ जना छन् भने बाँकी ११ जना गैरगोर्खा समुदायबाट छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीमा अधिकांश ७० वर्षभन्दा बढी उमेरका रहेको दूतावासले जनाएको छ । त्यसैगरी, कुल मृतकमध्ये आधा भन्दा केहि बढी लण्डनबाहिरका शहरबाट छन् भने बाँकी लण्डनका छन् ।

लण्डनबाहिर ननिटन, बेजिङस्टोक, रेडिङ लगायत क्षेत्रमा बढी नेपालीको मृत्यु भएको तर बेलायतमा सबैभन्दा बढि नेपालीको बसोबास रहेको अल्डरसट क्षेत्रमा तुलनात्मक रुपमा मृत्यु संख्या न्यून रहेको दूतावासको भनाइ छ ।

बेलायतमा कोरोनाको संक्रमण भएका धेरै नेपालीहरु भने अहिले निको भइसकेको दूतावासले जनाएको छ ।

अहिले पनि अस्पतालमै रहेर उपचार गराइरहेका संक्रमित नेपाली करिब १५ जना रहेको र घरमै ‘आइसोलेसन’ मा बस्नेको संख्या पनि खासै धेरै नरहेको बताइएको छ ।

दूतावासले ‘गोर्खा वेल्फेयर ट्रस्ट’, भूतपूर्व गोर्खाका संस्था, स्थानीय काउन्सिल लगायतसंगको समन्वयमा तथ्यांक संकलन गरिएको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू