शुक्रबार, चैत १६, २०८०
09:12 | १४:५७

कोरोना सहयोग अभियानमा स्कटल्याण्डका सम्पूर्ण नेपाली संस्था एकठाउँ

१४ संस्थाको सहभागितामा सहयोग समिति

नेपाली लिङ्क मे १५, २०२०

लण्डन । कोरोना महामारीका बेला समस्यामा पर्न सक्ने नेपालीहरुको सहयोगका लागि स्कटल्याण्डस्थित सम्पूर्ण नेपाली संस्था एकठाउँ उभिएका छन् ।

एनआरएनए स्कटल्याण्डको संयोजनमा स्थानीय १४ नेपाली संघसंस्थाहरुको सहभागितामा कोरोना प्रभावित नेपालीहरुको सहयोगका लागि अभियान शुरु गरिएको छ ।

सम्पूर्ण संस्थाका अध्यक्ष एवम् प्रतिनिधिको प्रतिनिधित्व गराएर ‘कोभिड १९ सहयोग समिति’ गठन समेत गरिएको छ । समितिको संयोजक एनआरएनए स्कटल्याण्ड राज्य समन्व परिषदका अध्यक्ष छविलाल अर्याल छन् भने सदस्यसचिव परिषदका सचिव दिवाकर पाण्डे छन् ।

समितिमा मोहन कार्की, राम बगाले, दिवाकर पाण्डे, प्रकाश अर्याल, नविन क्षेत्री, विजय डंगोल, मनिष खत्री, गोकर्ण भुषाल, शर्मिला भण्डारी, पूर्ण कंडेल, रामप्रसाद कंडेल, कृष्ण देवकोटा, गोविन्द देवकोटा, नविन पञ्चकोटी र डोली शर्मा भट्ट सदस्य रहेका छन् ।

सहयोग अभियानमा स्कटल्याण्डका ग्लास्गो, एडिनबरा, एबर्डिनसहित सम्पूर्ण क्षेत्रमा क्रियाशिल नेपाली संघसंस्थाहरु समेटिएको संयोजक अर्यालले बताए ।

एनआरएनए स्कटल्याण्ड, ग्लास्गो नेपाली एशोसिएन, नेपाल स्कटल्याण्ड एशोसिएसन, फोर्थ भ्याली नेप्लिज कम्युनिटी, हिमालयन एशोसिएसन एबर्डिन, अर्गनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेल्फेयर एबर्डिन, दियो क्लब यूके, जिएस आर्ट एण्ड कल्चर, ग्लास्गो साउथसाइड कम्युनिटी, फाइफ नेप्लिज कम्युनिटी, स्कट स्पोर्टस् क्लब, हिमालयन सेन्टर एडिनबरा, नेपाली स्कटिस सोसाइटी, हरियाली आमा समुह लगायत यो अभियानमा संलग्न छन् ।

सहयोग अभियानमा स्कटल्याण्डस्थित डा बरुण लाल, डा रेशम तिवारी र नर्सहरु सरोजा अर्याल र सिर्जना देवकोटा लगायतका स्वास्थ्यकर्मी पनि जोडिएका छन् ।

समितिका सदस्यसचिव पाण्डेका अनुसार सहयोग समितिले लण्डनस्थित नेपाली दूतावास र एनआरएनए यूके लगायतसंग पनि समन्वयमा रहेर काम शुरु गरेको छ । सबै संघसंस्थाको सक्रियतामा १० हजार पाउण्डको लक्ष्यमा आर्थिक सहयोग संकलन थालिएको छ र अहिलेसम्म करिब २५  सय पाउण्ड संकलन भइसकेको छ ।

समितिले अहिलेसम्म अफ्ठेरोमा परेका स्कटल्याण्डस्थित केहि नेपाली विद्यार्थीलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराइसकेको छ ।

‘हामीले सहयोगको जरुरी रहने सबैलाई हामीसंग सम्पर्क राख्न आव्हान गरेका छौं । तर अहिलेसम्म केहि विद्यार्थीहरु मात्रै आउनुभएको छ’, सहयोग समिति संयोजक अर्यालले भने, ‘स्कटल्याण्डमा अहिलेसम्म धेरै नेपाली अफ्ठेरोमै परेको हामीलाई जानकारी छैन । तर कोहि हुनुहुन्छ भने हामी आवश्यक सहयोगका लागि तयार छौं ।’

स्कटल्याण्डका संघसंस्थाहरुको संयुक्त पहलमा उठाइएको कोषबाट स्कटल्याण्डमा मात्र नभइ बेलायतका अन्य क्षेत्रमा समस्यामा पर्ने नेपालीलाई पनि सहयोग गरिने उनले बताए । साथै, कोभिड १९ अभियानमा संकलित कोषबाट नेपालीहरुलाई सहयोग गरेपछि पनि बाँकी रहने रकम बेलायतकै एनएचएस लगायतलाई सहयोग गर्ने उनीहरुको योजना छ ।

स्कटल्याण्डका सम्पूर्ण नेपाली संघसंस्था एकै ठाउँमा आएर सहकार्य गर्नुलाई ठूलो उपलब्धिका रुपमा लिएको संयोजक अर्याल बताउँछन् । उनी भन्छन्, ‘पहिलोपटक हामीले स्कटल्याण्डमा सहकार्य र समन्वयको उदाहरणीय अभ्यास शुरु गरेका छौं । अहिले कोभिड १९ का वहानामा एक ठाउँ आएका हामीहरुको लागि अब भविष्यमा अरु कामहरुमा पनि संगसंगै हिड्ने वातावरण सिर्जना भएको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू