बिहीबार, वैशाख १३, २०८१
23:47 | ०४:३२

बेजिङ्गस्टोकका तीन महिलाले नेपाल पठाए एक लाख ५६ हजार

नेपाली लिङ्क मे १४, २०२०

लन्डन । बेजिङ्गस्टोक बस्ने तीन समाजसेवी महिलाले एक लाख ५६ हजार रुपैयां 
संकलन गरि नेपाल पठाएका छन् । नेपालमा लकडाउनका कारण समस्या झेलेका विपन्न र गरीव जनतालाई राहत स्वरुप आर्थिक सहयोग पठाइएको हो ।

बेजिङ्गस्टोक निवासी पूर्व सञ्चारकर्मी 
एवं समाजसेवी सुधा गुरुङले ललितपुरमा सकृय ‘हाम्रो सानो प्रयास’ समूहलाई रु ६५ हजार संकलन गरी पठाएकी छन् । सो समूहले विपन्न समुदायलाई दैनिक तातो खाना खुवाउंदै आएको छ ।

उक्त रकम संकलनमा गुरुङलाई बल थापा, सरला शाही, सबि पुन राना, विनिता गुरुङ , शोभा राई, यशोदा गुरुङ, सीता थापा, शोभा श्रेष्ठ, ममता राई, रमिता विजय गुरुङ र गुरुङका पिता भूतपूर्व डिएसपी नयनसिंह गुरुङले सहयोग पुर्याएका थिए ।

संकलित रकम गुरुङको अनुरोधमा बीएफबीएस गोर्खा रेडियो, काठमाण्डौंका कार्यक्रम निर्देशक एवं प्रस्तोता बिनोदध्वज खड्काले जावलाखेलस्थित अगेनो रेष्टुरेन्ट्मा गइ सो समूहलाई प्रदान गरेका हुन् ।

‘हाम्रो सानो प्रयास’ समूहमा क्याप्टेन विजय लामा, लेक्चरर एवं सामाजिक अभियन्ता पुकार बम, कान्तिपुरका वरिष्ठ पत्रकार घनश्याम खड्का, चलचित्र निर्देशक मिनबहादुर बम, अगेनो रेष्टुरेन्ट्का सिइओ प्रज्वल दाहाल, नायिका नम्रता श्रेष्ठ लगायत थुप्रै समाजसेवी आवद्ध छन् ।


सो समूहले ललितपुर, मनहरा भक्तपुर, पशुपति क्षेत्रमा खान नपाएर अलपत्र परेका गरीव तथा विपन्न परिवारहरु, पाटन मानसिक अस्पताल र मनमोहन कार्डियक सेन्टरमा लकडाउनले दिनहुं घर ओहोरदोहोर गर्न नपाएर अलपत्र परेका कुरुवा, राष्ट्रिय अनुसन्धान केन्द्रमा दिनरात खटिएका इन्जिनियरहरु, भनिमण्डलस्थित अन्नास बृद्धाआश्रममा आश्रित बृद्धाहरुलाई नियमित खाना खुवाउंदै आएको समूहका अगुवा मध्ये एक पुकार बमले जानकारी दिए ।

त्यस्तै गुरुङ र काठमाण्डौं निवासी उनका मातापिता पूर्व डिएसपी नयनसिंह गुरुङ्ग र मनु गुरुङले अर्का सामाजिक अभियन्ता प्रदीप घिमिरेको अनुरोधमा जोरपाटीस्थित बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउन्डेशनमा आश्रित २५ जना बालबालिका लकडाउनको मारले ३ दिन देखि खोले मात्रै खाएर बस्न वाध्य भएको भनि सहयोग अपिल गरेकाले राहत स्वरुप रु २५ हजार सहयोग पुराएका थिए ।

त्यस्तै, बेजिङ्गस्टोक निवासी समाजसेवीद्वय मन राई र मिठु गुरुङले पनि लकडाउनका बेला निरन्तर सेवामा जुटिरहेका नेपलिज तेक्वोन्दो एकेडेमीका संस्थापक अध्यक्ष अशोक खड्कालाई राहत वितरणका लागि सहयोग संकलन गरी पठाएका छन् ।

आफ्ना केहि सह्दयी साथीहरुको सहयोगमा मन राईले रु २६ हजार र मिठु गुरुङ्गले रु ४० हजार अशोक खड्कालाई पठाएको जानकारी राई र गुरुङले दिएका छन् । अशोक खडकाले सो रकम अत्यन्त गरीब विपन्न परिवार र सुत्केरी महिलालाई राहत स्वरुप खाद्य सामग्री किनेर हस्तान्तरण गरेका छन् ।

‘देश दुख्दा परदेशमा रहेका नेपाली मनहरु झन् रोइरहेका हुन्छन्’, सुधा भन्छिन्, ‘विदेशीनु एउटा वाध्यता भएपनि हाम्रो मन सधैं आफ्नै पाखा पखेरो, डाडांकाडा अर्थात स्वदेशकै सेरोफेरोमा घुमिरहेको हुन्छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू