शुक्रबार, चैत १६, २०८०
15:08 | २०:५३

बेलायतमा ‘एन्टीबडी टेस्ट’ लाई मान्यता

विज्ञ भन्छन् : संक्रमण पत्ता लाग्छ, जोखिम ग्यारेन्टी हुन्न

नेपाली लिङ्क मे १४, २०२०

लण्डन । मानिसहरुमा विगतमा कोरोना भाइरसको संक्रमण भए, नभएको बारे पत्ता लगाउन गरिने ‘एन्टीबडी टेस्ट’ लाई बेलायतमा पनि मान्यता दिइएको छ ।

‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ ले स्वीजरल्याण्डको एक औषधि उत्पादक कम्पनीबाट विकास गरिएको उक्त ‘एन्टीबडी टेस्ट’ लाई एक सकारात्मक खुड्किलो भनेको छ ।

बेलायतमा सरकारी अधिकारीहरुले यसअघि ‘एन्टीबडी टेस्ट’ पूर्ण विश्वसनीय नरहेको बताउँदै आएका थिए । तर, स्वीस कम्पनीले विकास गरेको ‘एन्टीबडी टेस्ट’ अहिलेसम्मको सबैभन्दा बढि सम्भावनायुक्त ठानिएको छ ।

बेलायत सरकारले यसअघि एकपटक १६ मिलियन पाउण्ड खर्च गरेर तयार गरिएको ‘एन्टीबडी टेस्ट’ ले काम नगरेको बताइन्छ ।

‘एन्टीबडी टेस्ट’ का क्रममा मानिसहरुको रगत परीक्षण गरी उनीहरुमा विगतमा संक्रमण भए, नभएको पत्ता लगाउने गरिन्छ । संक्रमण भएको मानिसको शरीरले भाइरसविरुद्ध लड्नका लागि विकास गर्ने ‘एन्टीबडी’ केहि समय पछिसम्म पनि रगतमा रहने विश्वास गरिन्छ ।

‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ का अनुसार प्रयोगका क्रममा यो ‘एन्टीबडी टेस्ट’ ले संक्रमण भएका मानिसहरुको हकमा शत प्रतिशत र संक्रमण नभएकाहरुको हकमा ९९ दशमलव ८ प्रतिशत सहि नतिजा दिएको छ ।

बेलायतमा मान्यता दिइएको यो परीक्षण कहिलेदेखि शुरु हुन्छ भन्ने अझै केहि बताइएको छैन । प्रारम्भिक चरणमा ‘एनएचएस’ र ‘हेल्थ केयर’ मा कार्यरत स्वास्थ्यकर्मीबाटै परीक्षण शुरु गरिने ठानिएको छ ।

संक्रमण पत्ता लाग्छ, जोखिम ग्यारेन्टी हुन्न

वाटर एड यूकेमा कार्यरत जनस्वास्थ्य विज्ञ डा ओमप्रसाद गौतम

‘एन्टीबडी टेस्ट’ ले मानिस विगतमा संक्रमित भएको बारे जानकारी दिएपनि भविष्यमा संक्रमणको जोखिम रहने वा नरहनेबारे भने बताउन सक्दैन ।

एकपटक संक्रमण भएर ‘एन्टबडी’ विकास भएको व्यक्तिलाई फेरि संक्रमण हुन्न भनेर ग्यारेन्टी गर्न सक्ने पर्याप्त प्रमाण अझै जुटिनसकेको जनस्वास्थ्यविज्ञ डा ओमप्रसाद गौतम बताउँछन् ।

‘वाटर एड यूके’ मा कार्यरत डा गौतमले ‘एन्टीबडी टेस्ट’ ले विशेष गरी कति मानिस यो भाइरसबाट संक्रमित भएछन् भनेर थाहा पाउन भने सहयोग गर्ने बताए ।

महामारीको ‘पीक’ का बेला संक्रमण भएपनि सामान्य लक्षण देखिएका धेरैले परीक्षण समेत गर्न नपाएको सन्दर्भमा सरकारलाई संक्रमितहरुको सहि तथ्यांक पाउनका लागि पनि यो परीक्षण सहयोगी बन्ने उनको अपेक्षा छ ।

‘एन्टीबडी टेस्ट’ का माध्यमबाट प्राप्त हुने विवरणले सरकारलाई भावी रणनीति तय गर्न समेत सजिलो हुने डा गौतमले बताए ।

‘कति मानिस भाइरसंग एक्सपोज भएछन् भन्ने तथ्यांकले महामारीको अर्को पीकको जोखिम पनि आँकलन गर्न सजिलो हुन्छ । त्यसैले लकडाउन, सामाजिक दूरी लगायतका नियमहरु के कसरी अघि बढाउने वा खुकुलो पार्दै जाने भन्ने निर्णय लिन पनि एन्टीबडी टेस्टले केहि आधारभूत तथ्यांक उपलब्ध गराउन सक्छ’, उनले भने ।

महामारीको प्रारम्भिक चरणमा बेलायत सरकारले चर्चामा ल्याएको ‘हर्ड कम्युनिटी’ को सवालमा पनि ‘एन्टीबडी टेस्ट’ को विशेष भूमिका हुने डा गौतमको भनाइ छ ।

कुल जनसंख्याको ८० प्रतिशतलाई संक्रमण भयो भने बाँकी २० प्रतिशतमा पनि जोखिम रहँदैन भन्ने ‘हर्ड कम्युनिटी’ को मान्यताका लागि आवश्यक तथ्यांक जुटाउने काम ‘एन्टीबडी टेस्ट’ बाट हुन सक्ने उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू