बुधबार, वैशाख २६, २०८१
01:21 | ०६:०६

लकडाउनले अमेरिकामै अड्किए गायक हिमाल सागर (भिडियो)

अलपत्र नेपालीको उद्धार गर्न सरकारलाई आग्रह

गायक हिमाल सागर

लन्डन । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक हिमाल सागर कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण जारी लकडाउनले गर्दा विगत ७० दिनदेखि अमेरिकामै बस्न बाध्य भएका छन् । लगभग २० दिनका लागि समय छुट्टयाएर पाँचौं पटक अमेरिका पुगेका गायक हिमाल सागर कहिले नेपाल फर्किन पाउने हुन् अझै निश्चित छैन ।

उनी भन्छन्- ‘कैदीको जस्तो जीवन भएको छ, न साथीभाइहरुसँग भेटघाट तथा रमाइलो नै गर्न पाइन्छ, न घुमफिर तथा सपिङ गर्न जान पाइन्छ, सबैतिर बन्दाबन्दी छ, कतिन्जेल यो अवस्था रहने हो थाहा छैन ।’

आफ्नै वरिपरी नेपाली दाजुभाइहरुको निधन हुँदा र दैनिक हजारौंको संख्यामा मानिसहरुको मृत्युको खबरले गर्दा आफ्नै ज्यान समेत खतरामुक्त नभएको उनी बताउँछन् । आफ्नो तर्फबाट आवश्यक सतर्कता अपनाउनुका साथै लकडाउनको नियम पालना गरेको र आत्मबल भने कम नभएको उनले बताए ।

अमेरिका पुगेपछि मुश्किलले एउटा मात्र कार्यक्रम सम्पन्न भएपनि कोरोना संक्रमण र मानिसमा त्रास बढ्दै गएकाले दर्शकहरुको खासै उपस्थिति रहेन । भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, सनफ्रान्सिस्को लगायतका विभिन्न स्थानमा उनका आधा दर्जन जति कार्यक्रम तय भएका थिए, जुन कोरोनाका कारण सबै रद्ध भएका छन् ।

हाल उनी भर्जिनियाको विन्चेस्टरमा बस्दै आएका छन् । यस्तो विषम परिस्थितिमा अमेरिकाबाट उनले नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहेका छन् । विश्व नै आक्रान्त बनेको यस परिस्थितिमा आफू पनि अछुतो नरहेको बताउँदै उनले आफू जस्ता अरु थुप्रै नेपाली पनि समस्यामा रहेकाे खबर पाएको उनले बताएका छन् ।

यस विषम परिस्थितिमा चाँडो भन्दा चाँडो सुलभ तरिकाले विदेशमा रहेर आपतमा परेका नेपालीहरुलाई स्वदेश फर्किने वातावरण मिलाउन उनले नेपाल सरकारलाई उनले अनुरोध गरेका छन् ।

स्वदेश फर्केपछि कोरोना संक्रमण नियन्त्रण गर्न आवश्यक पर्ने आइसोलेसन, क्वारेन्टाइन जस्ता नियम सबैलाई लागू गरियोस् भन्दै आफूले पनि सोको पालना गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

भारत लगायत अन्य थुप्रै मुलुकले आफ्ना नागरिकहरुलाई आफ्नो देशमा फिर्ता लैजाने वातावरण मिलाइसकेकोले यसतर्फ ध्यान दिन गायक हिमाल सागरले नेपाल सरकारसँग आग्रह गरेका छन् । उनले भने, ‘भिजिट भिसामा गएकाहरु पनि कोरोनाका संक्रमणका कारण यतै रोकिन बाध्य भएका छन् त कतिपयको कोरोनाको संक्रमणबाट निधन समेत भएको दुखद घटना छ ।’

सांगीतिक यात्रा र कोरोनाको असर

झन्डै दुई दशक लामो सांगीतिक यात्रा पार गरिसकेका गायक हिमाल सागर नेपाली सांगीतिक क्षेत्रका एक लोकप्रिय कलाकारको रुपमा रहँदै आएका छन् । वि. सं. २०६० सालमा ‘न मैले लेंखे न उनले लेखिन्’ बोलको गीति एल्बमबाट सांगीतिक धरातलमा उत्रिएका गायक हिमाल सागरको पछिल्लो ‘कल्लाई थाहा छैन’ बोलको स्मीता दाहालसंगको गीतसम्ममा धेरै गीत निकै लोकप्रिय छन् ।

तेसो त उनले लगभग चार सय जति विभिन्न खालका गीत गाइसकेका छन् । ‘मेरो माया मारेपछि’, ‘माया कहिले मुस्कुराउने’, ‘तिम्रो चोलीको तुनामा’, ‘लै बरी लै’, ‘काफलको दाना’, ‘ए माया’ जस्ता थुप्रै गीतहरु पछिल्लो समयका उनका चर्चित गीतहरु हुन् ।

अर्जुन पोखरेलको संगीतमा रहेको ‘कसलाई हेरौं हेरौं लाग्दैन र राम्री देखेपछि’ बोलको एउटा रोमान्टिक गीत पनि कोरोनाका कारण अहिले ओझेल परेको उनले बताए । अमेरिकाबाट नेपाल फर्किएपछी उनका थुप्रै योजनाहरु थिए । नेपाल गएर रेकर्ड भइसकेका केहि नयाँ गीतहरुको शुटिंग गरेर ‘रिलिज’ गर्ने उनको योजना हाललाई स्थगित भएको छ ।

नेपालमा आयोजना हुने थुप्रै मेला महोत्सवहरुका लागि तय भइसकेका कार्यक्रमहरु कोरोना संक्रमणका कारण रोकिएको उनले बताए । क्यानाडा, अष्ट्रेलिया, युरोप लगायतका विभिन्न देशहरुका लागि तय भएका सबै कार्यक्रमहरु स्थगित भएको र भविष्यमा पनि तत्कालै यस्ता मनोरन्जनात्मक कार्यक्रमहरु नहुने उनको धारणा छ । दर्शक श्रोताहरुलाई पुन पहिलेको अवस्थामा आउनको लागि रोमान्टिक बन्न अझै केहि वर्ष लाग्ने उनको अनुमान छ ।

‘कोभिड १९’ को असरले नेपाली कलाकारहरुलाई पनि नराम्रो असर परेको गायक हिमाल सागरले बताए । विश्वलाई नै आक्रान्त बनाएको यस महामारीबाट पाठ सिकेर हतोत्साहित नभई सबैले मिलेर यसको नियन्त्रण तर्फ लाग्नु नै अहिलेको प्रमुख लक्ष्य भएको उनले बताए ।

हेरौं अमेरिकाबाट हिमाल सागरले पठाएको भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू