बिहीबार, वैशाख १३, २०८१
15:56 | २०:४१

बेलायतमा दैनिक मृत्यु संख्या बिस्तारै घट्दो क्रममा

नेपाली लिङ्क मे १३, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरसका कारण भइरहेका मृत्युहरुको संख्या दिनप्रतिदिन घट्दो क्रममा देखिन लागेको छ ।

‘विकेण्ड’ मा सुस्त रिपोर्टिङका कारण तुलनात्मक रुपमा निकै न्यून देखिने मृतकको संख्या साताका अन्य दिनमा समेत पहिलेको तुलनामा कम हुन थालेको छ ।

बुधबार जारी पछिल्लो २४ घण्टाको तथ्यांकमा बेलायतमा थप ४ सय ९४ जनाको मृत्यु भएको छ । ठीक एक साताअघिको तुलनामा यो संख्या १ सय ५६ ले थोरै हो ।

यससंगै बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार १ सय ८६ पुगेको छ । तर, राष्ट्रिय तथ्यांक कार्यालयले जारी तथ्यांकले भने अहिलेसम्म ४० हजार बढीको मृत्यु भइसकेको देखाएको छ ।

बेलायतका सबै क्षेत्रमा मृत्युको दरमा गिरावट देखिएको र त्यो क्रम लण्डनमा अझै उल्लेख्य रहेको सरकारी तथ्यांकले देखाउँछ ।  सरकारी अधिकारीहरुले संक्रमणको जोखिम बाँकी रहेको तर संक्रमण दर घट्दै गएको बताएका छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा बेलायतमा ८७ हजार ६३ परीक्षण भएका छन् । जसमध्ये ३ हजार २ सय ४२ जनामा संक्रमण भेटिएको छ ।

पछिल्ला दिनमा परीक्षण बढाइएको अनुपातमा संक्रमणका नयाँ केसहरु नबढ्नुलाई पनि सकारात्मक रुपमा लिइएको छ ।

अप्रिल अन्त्यमा दैनिक लाख परीक्षणको क्षमता बिस्तार गर्ने लक्ष्य पूरा गरेको सरकारले त्यसयता भने विरलै मात्रै लक्ष्यअनुसारको संख्यामा परीक्षण गर्न सफल भएको छ ।

बुधबार सरकारको ‘कोरोना ब्रिफिङ’ मा अस्पतालमा उपचाररत संक्रमितहरुको संख्या पनि उल्लेख्य रुपमा घटेको जानकारी दिइएको छ । अहिले अस्पतालमा रहेका संक्रमितहरु अघिल्लो साताको तुलनामा १५ प्रतिशत थोरै छन् ।

यता, सरकारले गरेको लकडाउन खुकुलो पार्ने घोषणाको पहिलो चरण बुधबारदेखि शुरु भएको छ । घरबाट काम गर्न असमर्थ मानिसहरुलाई आजदेखि आवश्यक सतर्कता अपनाएर काममा जान आव्हान गरिएको थियो ।

त्यस्तै, सामाजिक दूरीसहित पार्कमा बस्ने, घरबाहिर अन्य घरको एक जनासम्मलाई भेट्ने, गल्फ, टेनिस लगायतका खेलमा सहभागी हुने जस्ता कार्यमा छुट पनि दिइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू