शनिबार, मंसिर १३, २०७७
08:09 | १३:५४

गोलु हात्ती र कोरोना 

नेपाली लिङ्क मे १२, २०२०

कथा परिकल्पनाकार लारा

——————

स्थान: सिसौ बन

पात्रहरु:

* गोलु हात्ती

* ची ची मुसा

* माया मृग

* सुईंके स्याल

* खसखसे दुम्सी

[चित्र: लारा]

सिसौ बन भन्ने स्थान-

बिभिन्न जनावरहरुको बास स्थान, त्यहाँ थुप्रै जीव-जनावरहरु अत्यन्तै मिलेर बसेका छन् । सोहि सिसौ बन स्थानको घाँसे टोलमा अत्यन्तै मिल्ने हितैषी दुई मित्रहरु: गोलु हात्ती र ची ची मुसा पनि बस्छन् । शारिरीक आकार फरक भए पनि उनीहरु खुब मिल्छन् अनि प्राय: संगै खेल्ने गर्छन् ।

अहिले जताततै व्याप्त कोरोना महामारीको हल्ला सिसौ बनमा पनि डढेलो सल्किए जस्तै पुग्यो ।

शहरदेखि आएका स्वास्थ्यकर्मीहरुको सहयोगमा सिसौ बनका सबै बासिन्दालाई ‘कोरोनादेखि कसरी सतर्क रहने’ स्वास्थ्य जानकारी सभा त्यहि सिसौ बनको स्थानीय ‘संजीवनी’ स्वास्थ्य चौकीमा कार्यरत् नर्स, माया मृगले राखिन् । मास्कको प्रयोग र साबुन पानीले हात धुने देखि सामाजिक अन्तरता कायम राख्दै भिडभाड अनि समूहमा खेल्नु नजानु भन्ने समेत सुझाव दिईयो ।

एउटा शनिबार बिहान, 

ची ची मुसाको घरको ढोका आएर गोलु हात्तीले भन्यो- ‘ए ! ची ची फूटबल खेल्नु बाहिर घाँसे मैदान जाउँ !’

ची ची मुसा – ‘ओहो ! कोरोनाको यस्तो संक्रमण फैलिएको बेला बाहिर खेल्नु या घुम्नु नजानु भनेको छ, म त जान्न !’

गोलु हात्ती – ज्यान पनि मुसाको आँट पनि मुसाको डर छेरुवा ! म त हात्ती हो हात्ती !!! मलाई कोरोनाले छुन सक्दैन । म त लागेँ खेल्न । तँ मुसा डराएर घरमा नै बस् । गोलु हात्ती रिसाएर घाँसे मैदानतिर लाग्यो ।

केहि हप्तापछि

सिसौ बन दुइ बासिन्दा छिमेकीहरु, सुईंके स्याल र खसखसे दुम्सी खासखुस गर्दै रहेछन् ।

खसखसे दुम्सी- ‘अनि त्यो गोलुलाई पनि पो कोरोना लागेछ भन्ने सुईंको चाहि कसरी लाग्यो नि तिमीलाई ए ! सुईंके ?’ खसखसे दुम्सिलाई खसखस लागेर सोध्छ ।

सुईंके स्याल- (निक्कै घमण्ड गर्दै) त्यस्तो कुरा पत्ता लागि हाल्छ नि !  सुईंके स्याल हो मेरो नाम । दुवै गलल हाँस्छन् ।

उता देखि लामो घण्टाको कोरोना संक्रमणको जांचमा खटिएकी थकित माया मृग घर फर्कंदै गर्दा, उनीहरुले गोलु हात्तीप्रति लक्षित गर्दै खिल्ली उडाएको सबैं सुन्छिन् ।

माया मृग – ‘अरे ! सुईंके भाइ, तपाई जस्तो चलाख, पढे लेखेको युवा नै यस्तो नानाथरी खसखस गर्दै बस्ने?’ तपाईहरुमा अलिकति पनि मानवता छैन? आफ्नो छिमेकी गोलु यतिबेला कोरोनाको उपचारको लागि अस्पताल सैयामा छ ।

ची ची आफ्नो परम मित्रलाई यो लकडाउनको बेला भेट्नु नपाएर ब्याकुल, अस्पताल कोरोनासंग जुझ्दै गरेको आफ्नो मित्र गोलुको स्वास्थ्य स्थितिबारे सोचिरहेको छ ।

माया मृग – ‘तपाईहरु अरुको अवस्थाको खसखस  र सुईंको लिंदै बस्नुहुन्छ? यी हेर्नुस् मलाई ! कति ज्यानको जोखिम लगाएर बाहिर जानुपर्छ । तपाईहरु जस्तो घरमा बस्नु मन छ नि ! मलाई पनि ।’

हेर्नुस् ! सुईंके भाइ, यो कोरोनाले कसैको आकार, धनी, गरिब, पढेको, नपढेको केहि छुट्याउदैन । उ ! गोलुको आकार ठुलो थियो, मलाई कोरोना छुंदैन भनेर ची ची कोको शारीरिक आकारको हाँसो बनायो । ची ची सम्झाउने कोशिश गर्दा मानेन । सावधानी अपनाएन, बाहिर गएर अब, को कोसंग घुलमिल भयो ।

सुईंके स्याल र खसखसे दुम्सी अहिलेसम्म चुपचाप माया मृगको कुरा सुनिरहेका थिए । दुबैले आफ्नो गल्ती महसुस गरे । यस्तो परेको बेला आफ्नो छिमेकी या कोरोना लागेको जो कोहिप्रति पनि संसकित वा खिल्ली उडाउनु उचित हुँदैन । दुबैले एकै स्वरमा भने- हो माया दिदी ! यो कोरोनाले न आकार, जात, धर्म, पढे लेखेको, के बृद्ध, के बालकलाई यो कोरोनाले नछोड़्दो रहेछ । हिजो अस्तिसम्म बृद्धहरुलाई मात्रै असर गर्छ भन्थे, गोलु जस्तो हट्टाकट्टा युवालाई पनि कोरोना लाग्दो रहेछ ।

खसखसे दुम्सी – ‘ओहो ! मेरो त घरमा बृद्ध बाजे बज्यै छ, म कुनै ‘रिस्क’ लिन चाहन्न ।’ उनी तत्कालै आफ्नो घरतर्फ लाग्छन्। ।

सुईंके स्याल – धन्यबाद माया दिदी ! तपाईले सहि कुरा भन्नुभयो । तपाईहरु हाम्रै लागि यत्रो अहोरात्री खटिनु भएको छ । हाम्रो सानो हेल्चेक्र्याईले पनि धेरै जोखिम बढ्ने रहेछ । ज्यान रहे, पछि भेटौंला है दिदी । सुईंके स्याल बिदा भएर फुर्लुक्क उफ्रन्दै बाटो लाग्छ ।

पर आफ्नो घरको सानो झ्यालदेखि यो सबै कुराकानी सुनिरहेको ची ची मुसाको अनुहार उज्यालो हुन्छ ।

आफ्नो अत्यन्तै परम मित्र गोलुलाई त्यो शनिबार उसले संगै खेल्नु जान अस्वीकार गर्दा दु:ख लागे पनि तर पछि आफ्नो मित्र गोलुले ची ची को कुरा नसुनेर गल्ति गरेकोमा क्षमा माग्दै अस्पतालदेखि फोन गरेको सम्झियो । अनि ची ची मनमनै गोलुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

माया मृगको अघिसम्मको थकित शरीर, सेवा मात्रै हैन सन्देश दिएर कसैलाई सकारात्मक सोच दिनु सकेकोमा फुरुंग हुन्छिन् ।

कथा परिकल्पना- लारा

महाराजगंज, काठमाण्डौ – नेपाल

शनिबार ९ मे २०२० 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू