बिहीबार, वैशाख १३, २०८१
08:38 | १३:२३

एक सातासम्म पनि भेटिएनन् नेपालका लागि पूर्व बेलायती राजदूत

नेपाली लिङ्क मे १२, २०२०

लन्डन । ६ मेदेखि हराइरहेका नेपालका लागि पूर्व ब्रिटिश राजदूत रिचर्ड मोरिसको खोजी कार्य जारी रहेको ब्रिटिश प्रहरीले जनाएको छ ।

ब्रिटेनको ह्याम्पसायर प्रहरीले बेन्टली निवासी ५२ वर्षीय मोरिस गत बुधबार बिहान १०.३० बजे दौड्न घरबाट निस्किएको तर त्यसपछि परिवारसंग सम्पर्कमा नआएको जनाएको छ ।

प्रहरीले छरछिमेकका वासिन्दाहरुलाई आआफ्ना घरका बगैंचा, भण्डार गृह, शेड आदि चेक गर्न आग्रह पनि गरेको छ । कुनै स्थानीय वासिन्दा वा व्यवसायसंग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले खोजी कार्यमा सघाइरहेका हयाम्पसायर सर्च एण्ड रेस्क्यू टोलीका स्वयंसेवकहरुलाई धन्यवाद पनि दिएको छ ।

उनले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिश राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि आउंदो जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो ।

उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र पेश गरेपछि तस्बिर लिँदै राजदूत मोरिस । तस्बिर- रासस

प्रहरीले रिचर्डको हुलिया ६ फिट अग्लो, श्वेत वर्ण, फुलेको कपाल र दाह्री पालेको बताएको छ । उनको अनुहारमा जन्मचिन्ह छ ।

उनले लामो बाहुला नीलो जीपर भएको टप, कालो हाफ पाइन्ट र निलो जुत्ता लगाएको प्रहरीले बताएको छ । प्रहरीले आफूसंग व्यवसायिक खोजकर्ता समूह रहेको र उनीहरुले स्थानीय क्षेत्रमा गहन रुपले खोजी गरिरहेको भन्दै विश्वस्त पारेको छ ।

बेलायतको विदेश मन्त्रालय (एफसीओ) मा प्यासिफिक डिपार्टमेन्ट प्रमुख भएर काम गरिसकेका मोरिस सम्पर्कविहीन भएको खवरले आफूहरु चिन्तित भएको भन्दै एफसीओले उनी छिट्टै सकुशल भेटिने अपेक्षा व्यक्त गरेको छ ।

नेपाललाई औधि माया गर्ने रिचर्डले नेपालमा महाभूकम्पपछि गएका बेलायती राजकुमार हयारीको भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । उनी बेपत्ता भएको खवरले बेलायतको नेपाली समुदाय पनि चिन्तित छ । विशेष गरि ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स प्रतिनिधिसंग निकट थिए मोरिस ।

उनीबारे केही जानकारी भए-

If you can help please get in touch by phoning 101 and quote the reference 44200160398.

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू