बिहीबार, चैत १५, २०८०
08:32 | १४:१७

लकडाउनमा झन् व्यस्त छन् ग्रोसरी

नेपाली व्यवसायी पनि मालामाल

नेपाली लिङ्क मे १०, २०२०

लन्डन । कोरोना भाइरस संक्रमण रोक्न बेलायत सरकारले लागू गरेको लकडाउनबाट कयौं व्यवसाय प्रभावित भइरहंदा ग्रोसरी भने झन् व्यस्त भएका छन् । यस बीचमा अत्यावश्यकीय सामान पूर्ण रुपमा उपलब्ध नभएपनि व्यवसाय उल्लेख्य भएको नेपाली व्यापारीको भनाइ छ ।

अल्डरसटस्थित चाइना ओरियन्टल सुपरमार्केटको व्यस्तता लकडाउनका बेला झन् बढेको छ । बेलायतमा कोरोना संक्रमणका केसहरु शुरु हुंदै गर्दा केहि साता सुस्ताएको थियो व्यापार । सुपरमार्केटको सुस्त व्यापारले सञ्चालकहरुमा निराशा पैदा गर्न थालिसकेको थियो ।
तर संक्रमण फैलिंदै गएपछि जब सरकारले लकडाउन गर्ने, बजारमा खानेकुराको संकट हुने हल्ला चल्न थाल्यो, ग्राहकको भीड थामिनसक्नु भयो ।

‘लकडाउन शुरु हुनुअघिका दुई सातासम्म त सुपरमार्केटले रेकर्ड व्यापार गर्यो । पहिला सिंगो सातामा हुने व्यापार एकै दिनमा हुन थाल्यो । लकडाउन र खानेकुराको अभाव निम्तिने हल्लाले मानिसहरुले ओभरबाइ गरे । तर लकडाउनपछिका दुई सातासम्म फेरि ग्राहक आउन बन्द भयो’, सञ्चालक कमल कोने गुरुङले सुनाए, ‘पहिला किनेर राखेको सामान सकिन थालेपछि भने अहिले फेरि ग्राहक बढेका छन् ।’

 

पहिलेको तुलनामा ग्राहकको चाप घटेको तर व्यापार बढेको अनुभव गुरुङको छ । ‘पहिला धेरै मान्छे आउंथे, थोरै थोरै किन्थे । अहिले थोरै मान्छे आउंछन्, तर धेरै धेरै किनेर जान्छन्’, गुरुङ भन्छन्, ‘व्यापारका दृष्टिले पहिलेभन्दा राम्रो भएपनि धेरै सामग्री बजारमा पाइंदैन । उपलब्ध सामग्री पनि पहिला भन्दा महंगो छन् ।’

गत नोभेम्बर अन्तिम साताबाट सञ्चालनमा आएको चाइना ओरियन्टल सुपरमार्केटमा चाइनीज, भियतनामिज, जापनीज, कोरियन, थाई लगायतका सम्पूर्ण ओरियन्टल खाद्यसामग्री उपलब्ध छन् । नेपाली सामग्रीहरुको पनि विशेष ‘कलेक्सन’ छ । ग्राहकहरु सामान किन्न आउंदा ‘सोसल डिस्टेन्सिङ’ नियम फलो गर्नुपर्ने सञ्चालक बताउंछन् ।

झण्डै ६ लाख पाउण्डको लगानीमा नेपाली व्यवसायीहरुले शुरु गरेको सुपरमार्केटमा अहिले १० जनाले रोजगारी पाएका छन् ।

उता, ब्रम्ली केस्टनस्थित ‘केस्टन भिलेज स्टोर’ सञ्चालक दीपक अर्याल पनि अचेल पसलमा झन् व्यस्त 
छन् ।

ब्रिटिश समुदायलाई लक्षित गरेर विगत ४ वर्षदेखि सञ्चालित उक्त स्टोरमा दोब्बर व्यापार भइरहेको अर्यालले जनाए । पसल बिहान ७. ३० बजे खुलेपछि दिउसो २ बजेसम्म निरन्तर व्यस्त हुन्छ । कर्मचारी अभाव र सांझसम्म खुल्ने पसल दिउसै बन्द गर्नुपर्दा सिमित समयावधिमा उक्त पसल अझ व्यस्त हुने गरेको छ ।

‘कतिपय सामान पाउन गारहो छ । तर विजनेश बढेको छ’, उनले भने । एक पटकमा एकजना ग्राहकमात्र प्रवेश दिइएको उनी बताउंछन् ।

ग्रोसरी पसलहरुले ‘रिटेल प्राइस मार्क’ भएको वस्तुमा मुल्य घटबढ गर्न पाउंदैनन् तर ‘नन प्राइस मार्क’ आइटम आफू अनुकुल बेच्न सक्छन् । यसले गर्दा पनि अहिले बजारभाउ वृद्धि हुन गएको अर्यालको भनाइ छ ।

बजारमा अहिले पहिलेको तुलनामा करिब ६० प्रतिशतमात्र सामान उपलब्ध छन् भने ‘ब्राण्डेड’ उत्पादन अभाव छ ।

अर्यालका भनाइमा लकडाउनको पहिलो तीन सातासम्म मुल्य उच्च रह्यो । विशेषगरि मासु र सागसब्जी (भेजिटेबल) मा भाउ बढेको थियो । युरोपबाट आउने लरी क्वारिन्टाइनमा राखेर भित्रंदा बजारमा सामान पर्याप्त 
स्टक नभएर पनि मुल्यवृद्धि भएको हो । तर, ब्रिटिश उत्पादन नै बजारमा आएपछि मुल्य कम र कृत्रिम अभाव नभएको अर्यालले बताए ।

बेलायतमा नेपाली खाद्य सामग्रीहरु आपूर्ति गर्ने नेपाल फुड्सलाई पनि अहिले भ्याइनभ्याइ छ । विगत तुलनामा तीनगुणा बढि माग भएको नेपाल फुड्सका निर्देशक विकास नेपालले बताए । विशेषगरि दाल, चामल, कोदोको पीठो, फापरको पीठो अहिले बढि माग छ ।

कति ग्राहकले वाइवाइ, चिउरा, सुकुटी, नेपाली अचार, गुन्द्रुक, मःम पनि अर्डर गर्ने नेपाल बताउंछन् । ‘क्वालिटी र प्याकेजिङ राम्रो भएर पनि ग्राहक आकर्षित छन्’, अढाइ वर्षदेखि यस व्यवसाय शुरु गरेका नेपालले भने ।

बढ्दो मागका कारण स्टकमा सामान सकिने चिन्ताले पनि पिरोलिएका छन् नेपाल । ‘पहिला तीन महिनाको स्टक हुन्थ्यो । अहिले त्यति सामान एक महिनामै सकियो । अब तीन महिना आउंदैन्’, उनले भने, ‘नेपालबाट पठाएपछि लन्डन आइपुग्न ४५ दिन लाग्छ । सामान कसरी पो व्यवस्थापन गर्ने हो ।’

अहिले धेरै स्टोरमा मुल्यवृद्धि भएको अवस्था छ । तर, नेपाल फुड्सले पुरानै स्टक विक्री गरिरहेकाले भाउ नबढाइएको नेपाल बताउंछन् । अन्यत्र सबैतिर मुल्य बढेकाले अब आउने लटमा भने बढि पर्ने नेपालको भनाइ छ ।

नेपाल फुड्सले अर्डर भए बेलायतभर नै घरैमा डेलिभरी गरिदिने गरेको छ । निर्देशक नेपालका अनुसार एबरडिन, ग्लास्गो, एडिनबरामा समेत नेपाली सामान उपलब्ध छन् ।

उक्त कम्पनीले ‘मर्जिङ नेपसक्स’ मार्फत हालै समस्या भोगेका १६ जना विद्यार्थीलाई खाद्य सामाग्री प्रदान गरेको थियो ।

बेलायतमा नेपालीको जनसंख्या वृद्धिसंगै अहिले हरेक शहरमा नेपाली ग्रोसरी खुल्ने क्रम बढेको छ । नेपालीका कति ग्रोसरी छन् यकिन तथ्यांक उपलब्ध छैन् तर त्यस्ता पसलले नेपाली उत्पादनहरु विक्री वितरण गर्ने 
हुंदा नेपाली डायस्पोरा लाभान्वित छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू