शनिबार, वैशाख ८, २०८१
06:49 | ११:३४

लकडाउनमा विमान चार्टर गरेरै विदेशी डिपोर्ट गर्दै बेलायत

नेपाली लिङ्क मे ९, २०२०

फाइल तस्विर

लण्डन । सात हप्तादेखि जारी ‘लकडाउन’ का कारण बेलायतमा धेरै काम अहिले अवरुद्ध छन् ।

तर गैरकानुनी रुपमा बेलायतमा बसिरहेका र अपराधमा मुछिएका  विदेशीहरुलाई ‘डिपोर्ट’ गरेर उनीहरुकै देश फर्काउने कार्य भने होम अफिसले जारी राखेको छ ।

‘लकडाउन’ कै बीच होम हफिसले ‘प्राइभेट जेट’ चार्टर गरेरै हालै तीन दर्जन पोलिस नागरिकलाई ‘डिपोर्ट’ गरेको छ ।

‘टाइटन एअरवेज’ को चार्टर विमानबाट गत अप्रिल ३० तारिखका  दिन विभिन्न अपराधमा संलग्न ३५ जनालाई पोल्याण्ड पुर्याएर छोडिएको ‘गार्डियन’ पत्रिकाले उल्लेख गरेको छ ।

यो ‘डिपोर्टेसन’ का लागि करिब ५० जना होम अफिस स्टाफ समेत पोल्याण्डसम्मै पुगेर फर्किएका थिए ।

सरकारले लकडाउनका बेला अत्यावश्यक परिस्थितिबाहेकका हवाई यात्रामा रोक लगाएपनि ‘डिपोर्टेसन’ भने नरोकिएको हो । होम अफिसले पोलिस नागरिकहरु ‘डिपोर्ट’ गर्ने क्रममा सामाजिक दूरीको नियम पालना गरिएको बताएको छ ।

तर पोल्यान्ड ‘डिपोर्ट’ हुनेमध्येकी एक महिलाले भने एक अर्काबीच आवश्यक दूरी कायम नभएको र उपलब्ध गराइएका मास्क समेत सबैले प्रयोग नगरेको भन्दै पर्याप्त सुरक्षा नअपनाइएको आरोप लगाएकी छन् । विमान चढाउनुअघि कसैलाई पनि कोरोना संक्रमण परीक्षण नगराइएको पनि उनले बताइन् ।

आफ्नो केस हेरिरहेका सोलिसिटरसंग टेलिफोनमा बोल्ने मौका नपाएको गुनासो समेत ‘डिपोर्ट’ हुने पोलिसहरुले गरेका छन् ।

होम अफिसले भने यी सबै आरोपको खण्डन गर्दै ‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ को निर्देशिका पालन गरिएको र उनीहरुलाई कानुनी सहायता लिने अवसर पनि दिइएको दाबी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू