मंगलबार, वैशाख ११, २०८१
11:01 | १५:४६

नेपालमा अलपत्र बेलायतीलाई गोर्खाले गरे उद्धार

नेपाली लिङ्क मे ९, २०२०

लन्डन । नेपालको पर्वतारोहण क्षेत्रमा अलपत्र परेका १०९ जना बेलायतीलाई गोर्खाले उद्धार गरेका छन् । विभिन्न १३ क्षेत्रमा अलपत्र बेलायती पर्यटकहरुलाई नेपालस्थित ब्रिटिश गोर्खाहरुले उद्धार गरेको ‘दि सन’ पत्रिकाले जनाएको छ ।

कोरोना भाइरस संक्रमण फैलन नदिन नेपाल सरकारले गत महिनादेखि गरेको लकडाउनका कारण ति बेलायती अलपत्र परेका थिए । नेपालमा अहिले हवाइ तथा सडक यातायात पूर्ण बन्द छ ।

नयां भर्ना भएकालाई प्रशिक्षण दिन नेपालमा रहेका गोर्खालाई उद्धारमा खटाइएको थियो । उद्धार गर्न ब्रिटिश गोर्खाहरुलाई करिब तीन साता समय लागेको थियो । उनीहरुलाई करिब ४ हजार माइल बढि यात्रा र विभिन्न नदी, पहिरो छिचोल्नुपरेको थियो । उद्धार गरिएका सबै बेलायती चार्टर फ्लाइटमा फर्किसकेका छन् । उद्दारमा सहभागी एकजना गोर्खा सार्जन्ट प्रकाश गुरुङ इराक युद्धमा लडेका ‘२९ रेजिमेन्ट, रोयल लजिस्टिक्स् कर्पस’ का ‘भेट्रान’ हुन् । उनले स्वयंसेवा आफ्नो कर्तव्य ठानेको बताउंदै अप्ठेरो परेका बेला सघाउंदा आत्मसन्तुष्टि मिल्ने बताए ।

काठमाडौंस्थित बेलायती राजदूत निकोला पोलिटले ‘कोभिड १९’ महामारीका बेला विश्वभर रहेका बेलायती नागरिकलाई घर फिर्ती चुनौति रहेका बेला नेपालमा भने दूतावास र ब्रिटिश गोर्खाहरुको समन्वयका कारण सहज बनेको भन्दै गोर्खाहरुको प्रशंसा गरेकी छन् ।

गोर्खाहरुले बेलायती नागरिकबाहेक अन्य देशका २८ नागरिकको पनि उद्धार गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू