शुक्रबार, चैत १६, २०८०
23:11 | ०४:५६

यूके भित्रिने सबैलाई १४ दिन अनिवार्य ‘क्वारेन्टाइन’

नेपाली लिङ्क मे ९, २०२०

लन्डन ।  बेलायत सरकारले अन्य मुलुकहरुबाट बेलायत भित्रिने सबैको लागि १४ दिन अनिवार्य  ‘क्वारेन्टाइन’ बस्नुपर्ने नयाँ नियमको तयारी गरेको छ ।  

सरकारले बेलायतस्थित एयरलाइन्स कम्पनीहरुलाई  ‘क्वारेन्टाइन’ सम्बन्धी आफ्नो नयाँ योजनाबारे जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ ।  

१४ दिने ‘सेल्फ क्वारेन्टाइन’ यही मे अन्त्यदेखि लागू गर्ने तयारी सरकारको छ । जसअनुसार आयरल्यान्डबाहेक अरु सबै मुलुकबाट बेलायत आउनेहरु अनिवार्य रुपमा २ सातासम्म आफ्नो घर वा निजी निवासभित्रै बस्नुपर्नेछ ।  

उनीहरु काम, सपिङ लगायतका कुनै पनि प्रयोजनको  लागि घरबाहिर निस्किन पाउनेछैनन् । विमानस्थलहरुमा कार्यरत ‘कि वर्कर’ हरुको लागि भने ‘क्वारेन्टाइन’ को नियम लगाइनेछैन ।  

‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था कति लामो समयको लागि लागू गरिने भन्ने अझै स्पष्ट छैन ।  

बेलायतस्थित एयरलाइन्स कम्पनीहरुको संगठन ‘एयरलाइन्स यूके’ ले  १४ दिने ‘सेल्फ क्वारेन्टाइन’ को नियमले देशको उड्ययन क्षेत्रमा मात्र नभएर सिंगो अर्थतन्त्रमै ठूलो असर पुग्ने चिन्ता व्यक्त गरेको छ । 

उसले यस सम्बन्धमा सरकारका तर्फबाट थप विवरणसहितको जानकारी पर्खिरहेको जनाएको छ ।  

सरकारले अहिले तयारी गरेको ‘क्वारेन्टाइन’ को नियम केही साता अघि नै लागू गरिसकेको हुनुपर्ने कतिपयको मत छ । 

कोरोना महामारी शुरु भइसकेपछि पनि दशौं हजार मानिस अन्य मुलुकबाट बेलायत प्रवेश गरेका थिए । सरकारले भने उनीहरु धेरैजसो घर फर्किएका आफ्नै नागरिक रहेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू