शनिबार, वैशाख १५, २०८१
21:12 | ०१:५७

बेलायतमा २४ घण्टामा ९७ हजार परीक्षण, ६ सय २६ को मृत्यु

नेपाली लिङ्क मे ८, २०२०

वातावरणमन्त्री जर्ज अस्टिस

लण्डन । बेलायतमा पछिल्लो एक दिनमा ९७ हजारभन्दा बढी कोरोना भाइरस परीक्षण गरिएको छ ।

शुक्रबारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा सरकारका वातावरणमन्त्री जर्ज अस्टिसले शक्रबार बिहान ९ बजेसम्म २४ घण्टामा ९७ हजार २९ परीक्षण भएको जानकारी दिए । जसमध्ये ४ हजार ६ सय ४९ जनामा संक्रमण पोजिटिभ देखिएको उनले बताए ।

अप्रिल अन्त्यदेखि दैनिक एक लाख परीक्षणको लक्ष्य राखेको सरकारले शुरुका दुई दिनपछि आफ्नो लक्ष्य भेट्न सकेको छैन । पछिल्ला दुई दिनमा परीक्षणको संख्या बढेको भएपनि लक्ष्य भने अझै हासिल भएको छैन ।

मन्त्री अस्टिसले पछिल्लो एक दिनमा बेलायतमा थप ६ सय २६ कोरोना संक्रमित मानिसले ज्यान गुमाएको पुष्टी गरे । यससंगै हालसम्मको कुल मृतक संख्या ३१ हजार २ सय ४१ पुगेको छ ।

साथै, सामाजिक दूरी लगायतका नियमहरुको पालना निरन्तर राख्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरे ।

‘ब्रिफिङ’मा मन्त्री अस्टिसले प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो आइतबार घोषणा गर्ने नयाँ योजनापछि पनि ‘लकडाउन’ मा तत्काल नाटकीय परिवर्तन नहुने बताए ।

महामारीका बेला खानाकै समस्या झेलिरहेका मानिसहरुको सहायताका लागि १६ मिलियन पाउण्डको नयाँ कोष मन्त्री अस्टिसले घोषणा गरे ।

सोहि अवसरमा एनएचएस इंग्ल्याण्डका ‘मेडिकल डाइरेक्टर’ प्रा स्टेफन पाविसले पसल, कार्यस्थल लगायतका सार्वजनिक स्थानहरुमा मानिसहरुले थोरै समय बिताइरहेको तथ्यांक प्रस्तुत गरे ।

स्वास्थ्यकर्मीहरुको लागि उपलब्ध गराइएका पीपीई ‘आउटडेटेड’ भइसकेको भन्ने प्रश्नमा उनले पीपीईहरुको पुनः परीक्षण गरी गुणस्तर कायम गर्ने गरिएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू