आइतबार, मंसिर १४, २०७७
19:00 | ००:४५

बेलायतमा २४ घण्टामा ५ सय ३९ को मृत्यु

नेपाली लिङ्क मे ७, २०२०

‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डोमिनिक राब ।

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ सय ३९ जनाको मृत्यु भएको छ ।

‘विकेण्ड’ बाहेक मध्य साताको कुनै एक दिनमा भएको मृत्युको यो संख्या गत मार्चयताकै सबैभन्दा न्यून हो ।

सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा विहीबार बेलायत सरकारका परराष्ट्रमन्त्री डोमिनिक राबले हालसम्मको कुल मृतक संख्या ३० हजार ६ सय १५ पुगेको जानकारी गराए ।

विहिबार बिहानसम्मको २४ घण्टामा बेलायतमा ८६ हजार ५ सय ८३ परीक्षण भएको जानकारी मन्त्री राबले दिए । जसमध्ये ५ हजार ६ सय १४ जनामा संक्रमण ‘पोजिटिभ’ देखिएको छ ।

अघिल्लो दिनको तुलनामा परीक्षणको संख्या करिब १७ हजारले वृद्धि भएपनि दैनिक एक लाख परीक्षणको सरकारको लक्ष्य भने लगातार पाँच दिनदेखि हासिल हुन सकेको छैन ।

मन्त्री राबले संक्रमण र मृत्युको दर क्रमिक रुपमा घट्दै गएको तर जोखिम कायम रहेको भन्दै अब बेलायतले दोस्रो चरणको बारेमा सोच्ने बेला आएको बताए । दोस्रो चरणको मार्गचित्र आउँदो आइतबार साँझ प्रधानमन्त्री बोरिस जोन्सनले सार्वजनिक गर्ने उनले बताए ।

तत्कालका लागि ‘लकडाउन’ र सामाजिक दूरीका सबै नियमहरु कायम रहेको भन्दै आउँदो सातादेखि थोरै परिवर्तन हुन सक्ने संकेत उनले गरे । तर जोखिम बढ्न थाले फेरि कडाई गर्ने सरकारको रणनीति रहेको उनले सुनाए ।

सामाजिक दूरीको नियमलाई निरन्तरता दिन नसके संक्रमण बढ्ने र पुनः अर्को ‘लकडाउन’ को सामना गर्नुपर्ने खतरा उनले औंल्याए ।

श्वेत बेलायती समुदायको दाँजोमा अश्वेत तथा अल्पसंख्यक समुदायको मृत्युदर निकै बढी भएकोबारे सोधिएको प्रश्नमा मन्त्री राबले सरकार यसबारे गम्भीर रहेको बताए । तर, यो मुद्धालाई सम्बोधन गर्न सरकारले ठोस नीति बनाउनुअघि आवश्यक प्रमाणहरु जुट्नुपर्ने उनको धारणा थियो ।

सोहि अवसरमा इंग्ल्याण्डकी ‘डेपुटी चिफ मेडिकल अफिसर’ डा जेनी ह्यारिसले अहिलेसम्म सामाजिक दूरीको नियम राम्रोसंग पालना भएकै कारण संक्रमण घट्न लागेको बताइन् ।

पछिल्लो साता सरकारको आव्हान मानेर बेलायतमा ८२ प्रतिशत मानिसहरु घरबाहिर ननिस्किएको तथा ४४ प्रतिशत मानिसले घरबाटै काम गरेको तथ्यांक उनले प्रस्तुत गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू