शुक्रबार, वैशाख १४, २०८१
04:36 | ०९:२१

बेलायतमा कोरोना: मृतक संख्या ३० हजार, संक्रमित २ लाख बढी

नेपाली लिङ्क मे ६, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीस हजार नाघेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा बेलायतमा थप ६ सय ४९ जनाको मृत्यु भएपछि हालसम्मको कुल मृतक संख्या ३० हजार ७६ पुगेको छ ।

युरोपेली देशहरुमध्ये अहिलेसम्म बेलायतमै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

बुधबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा बेलायत सरकारका ‘सेक्रेटरी फर हाउजिङ, कम्युनिटिज एण्ड लोकल गभर्मेन्ट’ रोबर्ट जेनरिकले मंगलबार बेलायतभर कुल ६९ हजार ४ सय ६३ परीक्षणहरु गराइएको जानकारी दिए । जसमध्ये ६ हजार १ सय ११ जनामा संक्रमण पाइएको छ ।

यससंगै बेलायतमा संक्रमित हुनेको कुल संख्या २ लाख १ हजार १ सय १ पुगेको छ ।

बेलायतले दैनिक एक लाख भन्दा बढीको परीक्षणका लागि क्षमता विकास गरिसकेको बताइएपनि पछिल्ला केहि दिनमा लगातार रुपमा त्यो लक्ष्यअनुसार परीक्षण हुन सकेका छैनन् ।

यसअघि बुधबार मात्रै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मे अन्त्यसम्म दैनिक दुई लाख परीक्षणको क्षमता विकास गरिने बताएका थिए ।

‘कोरोना ब्रिफिङ’ का क्रममा मन्त्री जेनरिकले देशको अर्थतन्त्रलाई अब कसरी सुचारु गर्ने भन्नेबारे सरकारले विस्तृत रुपमा चरणबद्ध योजनाहरु ल्याउने बताएका छन् ।

उनले सहि समय आएपछि क्षेत्रगत रुपमा नभइ देशभरकै लागि समान ढंगले ‘लकडाउन’ खुकुलो पार्ने सरकारको योजना रहेको सुनाए ।

यसअघि प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो सातादेखि ‘लकडाउन’ का केहि नियमहरु खुकुलो पार्न सक्ने संकेत गरेका थिए ।

‘लकडाउन’ बाट कसरी बाहिरिने भन्नेबारे प्रधानमन्त्री जोन्सनले आउँदो आइतबार सरकारको विस्तृत योजना सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू